प्रधानसम्पादक हरिबहादुर थापाको राजिनामा, वास्तविकता एउटा चर्चा अर्कै
काठमाडौं । अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापाले पदबाट राजिनामा दिएको बिषय सञ्चारमाध्यममा चर्चामा छ ।
कर्मचारी र पत्रकारको तलव ब्यवस्थापनले नदिएपछि राजीनामा दिएको अभिब्यक्ति थापाले दिएको विषयमा चर्चामा रहे पनि कारण भने फरक रहेको पाइएको छ ।
कांग्रेस निकट रहेका हरिबहादुरले कम्यूनिष्ट निकट पत्रकारलाई हटाउने र कांग्रेस निकटलाई संरक्षण गर्ने गरेकाले अन्नपूर्ण भित्र आन्तरिक विवाद यस अघि देखिनै चर्किएको थियो । सोहि कारणले उनको अन्नपूर्णको यात्रा सकिएको छ ।
आफुले चालेका कदममा थापा सफल नभएको र उनको अन्नपूर्णमा म्याद नथपिने पक्का भएपछि पत्रकार र कर्मचारीलाई तलव नदिएको बहाना बनाउँदै उनले राजिनामा दिएको व्यवस्थापन स्रोतले बताएको छ ।
लकडाउनका कारण कार्यालय र बैंक नखुल्दा रोकिएको कर्मचारी र पत्रकारको तलब बुधबारबाटनै हाल्न सुरु गरेको र शुक्रबार सम्ममा सबैको तलब हालिसक्ने अन्नपूर्ण मिडिया नेटवर्कले जनाउँदै थापाको राजिनामा सँगै आएको विषय गलत भएको बताएको छ ।
थापा १५ साउन २०७५ मा अन्नपूर्ण पोष्टको प्रधानसम्पादकमा नियुक्त भएका थिए । थापाको आगमनसँगै अन्नपूर्ण पोष्टमा राजनीतिक धु्रविकरण शुरु भएको त्यहाँ कार्यरत पत्रकारहरु बताउँछन् ।
कांग्रेस निकट थापाले कम्यूनिष्ट निकट पत्रकारलाई कारवाहीदेखि जागिरबाट हटाउनेसम्मका काम गरेका थिए ।
केही दिनअघिमात्र त्यहाँ कार्यरत नेकपा निकटका पत्रकारहरुलाई हटाउन थापाले अध्यक्ष रामेश्वरसँग प्रस्ताव गरेका थिए । तर अध्यक्षले संकटको बेला हटाउन नसकिने जवाफ दिएका थिए ।
थापाको प्रस्ताव थापाबाटै अस्वीकृत भएपछि आन्तरिक विवाद थप गहिरिएको थियो । स्रोतकाअनुसार पत्रकार नरेन्द्र साउद, शम्भू कट्टेल, सुवास गोतामेलाई हटाउने प्रस्ताव गरेका थिए । उनीहरु सवै बामपन्थी निकट पत्रकार हुन् ।
हरिबहादुर थापा प्रधानसम्पादक नियुक्त भएपछि प्रेस युनियन निकटका पत्रकारहरुको बढुवा गरेका थिए भने प्रेस संगठन निकटका पत्रकारको जागिरसमेत खोसेका थिए ।
युनियन निकटका चन्द्रशेखर अधिकारीलाई उनले राजनीतिक ब्यूरो चिफ बनाए भने युनियन निकटकै विश्वराज खनाललाई डेस्क प्रमुख बनाए ।
त्यसैगरी बामपन्थी निकट संगीत स्रोता, राजु स्यांगतान लगायत ६ जनालाई अन्नपूर्ण छोड्न बाध्य बनाए भने मधेश विट हेर्ने नविन झालाई पदबाट हटाए । जिल्लामा कार्यरत कतिपय पत्रकारलाई पनि उनले हटाएका थिए ।