अहिले १० अर्बको होइन, कोरोनाको चिन्ता गरौं : प्रधानमन्त्री
काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले सुरु देखि नै प्रभावकारी रुपमा कदम चालेको बताउनुभएको छ ।
संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको आज जवाफ दिनुहुँदै उहाँले शत प्रतिशत काम गर्न नसकिएको हुन सक्ने भए पनि अधिकतम प्रयास गरेको बताउनुभयो । यहाँ फैलिएको कोरोना ८५ प्रतिशत भारतबाट आएका व्यक्तिबाट देखिएको छ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले एक्कासी बाँध फुटेर बाढी आएजस्तो भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म कसैलाई दोष दिन चाहन्न । हाम्रोमा अरुकोमा भयाभह अवस्थामा रहँदासमेत हाम्रोमा शून्य थियो । हाम्रोमा चेकजाँच गर्ने मेसिन नभएर हङकङमा सुरुमा पीसीआर चेकजाँच गरेका छौँ । अहिले हाम्रोमा २१ वटा मेसिनले चेकजाँच गरिरहेका छौँ ।
केही ठाँउमा व्यवस्थापनमा केही गम्भीर त्रुटिसमेत भएको उहाँले स्वीकार्नुभयो । उहाँले भन्नुभयो, त्यस्तो गल्ती अब दोहोर्याउन नदिने प्रयासमा छौँ । एकै प्रदेशमा मेसिन एक ठाउँमा पार्ट, अर्को ठाँउमा गएको छ त्यसलाई जोड्न पाएको छैन । त्यसलाई चुस्त र दुरुस्त बनाउनेछौँ ।
प्रधानमन्त्री ओलीले सुरुमा लकडाउनको नीति लिएर सरकारले उचित निर्णय गरेको बताउनुभयो । ५० हजार मानिसलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार व्यवस्थापन गर्नु सस्तो, सजिलो र सहज विषय नभएको बताउनुभयो ।
प्रधानमन्त्रीले भारतबाट आएका नागरिकहरू थेक्न निकै गाह्रो रहेको र कात्तिकसम्म पनि यस्तै अवस्था रहेको देखिएको बताउनुभयो । भन्नुभयो, साउनमा धेरै उच्चविन्दुमा पुग्ने देखिन्छ । चाडपर्वमा विदेशमा बसेका मान्छेहरू आउँदा क्वारेनटाइनको भार थपिन सक्ने सम्भावना छ ।
प्रधानमन्त्रीले स्थानीय तहहरूको काम गराइको प्रशंसा गर्नुभयो । भन्नुभयो, एउटा नाकामा १० हजार थपिनुभएको छ । खाने कहाँ ? राख्ने कसरी ? घर पठायो भने समुदाय सोत्तर होला भन्ने समस्या । स्थानीय तहले कसरी काम गर्नुभएको होला ? उहाँहरू त फिल्डमा खतरासँग लडेर काम गर्नुभएको छ । उहाँले यस्तो विपदको बेला कसैले भ्रष्टाचार गरे सह्य नहुने बताउनुभयो ।