‘छूवाछूतमुक्त व्यवहारमा लागू गर्नुपर्ने’

वेलकम खबर
जेष्ठ २१, २०७७

ताप्लेजुङ । ताप्लेजुङका दलित अधिकारकर्मीहरुले छूवाछूतमुक्त राष्ट्र घोषणा भएको १३ वर्ष बितिसक्दा पनि दलित समुदायले यसको अनुभूत गर्न नपाएको बताएका छन् ।

जातीय भेदभाव तथा छूवाछूत उन्मुलन दिवसको अवसर पारेर बुधबार जिल्लास्थित दलित अधिकार मञ्चले आयोजना गरेको शान्ति ¥यालीपछि कोणसभालाई सम्बोधन गर्दै अधिकारकर्मीहरुले छूवाछूतमुक्त व्यवहारमा लागू गर्नुपर्ने बताएका हुन् ।

आजभन्दा १३ वर्ष अघि सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई छूवाछुतमुक्त राष्ट्र घोषणा गरेको भए पनि सो घोषणा कागजमै सीमित रहेको दलित अधिकारकर्मीहरुले बताएका छन् ।

पछिल्लो समय छूवाछूतसँग सम्बन्धित अझ क्रुर, दर्दनाक र अमानवीय घटनाहरु वृद्धि हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसखाले घटना निर्मूल पार्नमा राज्य गम्भीर हुनुपर्ने उनीहरुको भनाइ छ ।

यसतर्फ राज्यको ध्यान नगए जातीय विभेद तथा छूवाछूतको घटनामा कमी आउनुको सट्टा बढ्दै जाने र विकराल रुप लिने अधिकारकर्मीहरुको ठहर छ ।

भर्खरै रुकुममा भएको क्रुरतापूर्ण घटनासहित पछिल्लो समय जातीय भेदभावका घटनाहरु तीब्र रुपमा बढ्दै गएकाले यस्ता घटनाको न्यूनिकरण गर्न र सबै समुदायसँगको आपसी सद्भावलाई कायम राख्नमा दलित अधिकार मञ्च क्रियाशील रहने पनि मञ्चका पदाधिकारीले बताएका छन् ।
मञ्चका पदाधिकारीले जातीय विभेदसँग सम्बन्धित घटनामा संलग्नलाई कानुनी कठघरामा ल्याएर हदैसम्मको कारबाही गर्न पनि सरकारसँग माग गरेका छन् । जातीय विभेदको घटना न्युनिकरण गर्न र हाल हुँदै आएको घटनाका दोषीलाई कारबाही गर्नमा सरकारले अग्रसरता नदेखाए देशभरका दलित अधिकारकर्मी आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

दलित अधिकार मञ्च ताप्लेजुङको अगुवाइमा जातीय विभेदको अन्त्य गरौं, छूवाछूतमुक्त राष्ट्र व्यवहारमा लागू गरौं लगायतका प्लेकार्डसहित दलित अधिकारकर्मीहरुले शान्ति ¥याली गरेका थिए ।

¥यालीद्वारा फुङ्लिङ बजार परिक्रमापछि वीरेन्द्र चौकमा पुगेर कोणसभा गरिएको थियो । कोणसभालाई मञ्चका पदाधिकारी तथा दलित अगुवाहरुले सम्बोधन गरेका थिए ।

sajilokhabar

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*