प्रदेश १ लाई तिब्बत सरकारले दियो पौने ८ करोडको स्वास्थ्य सामग्री

वेलकम खबर
जेष्ठ १९, २०७७

विराटनगर । चीन स्वशासित तिब्बत सरकारले १ नम्बर प्रदेशलाई करिब पौने ८ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना महामारीसँग जुध्न तिब्बतले प्रदेश सरकारलाई ७ करोड ७४ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल चीन कार्यकारी परिषद्ले सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तातरण गरेको छ । चीनले पठाएको स्वास्थ्य सामग्रीमा २ सेट पीसीआर मेसिन, भेन्टिलेटर ३ थान, एक्स रे पोर्टेबल मेसिन १ थान रहेका छन् ।

यसैगरी आरडीटी किट १० हजार, भीटीएम भाएल १० हजार, स्वाब स्टिक २० हजार, पीपीई ५ हजार, एन ९५ मास्क ५ हजार, सर्जिकल मास्क २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आईआर थर्मोमिटर २ सय थान, अल्ट्रा सोनो ग्राम पोर्टेबल मेसिन १ थान, ह्यान्ड सेनिटाइजर ५ सय मिलिलिटर छन् ।

उपलब्ध भएका स्वास्थ्य सामग्रीहरुले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रुपमा प्रयोग गरिने मुख्यमन्त्री राईले बताए । ‘हामी प्रदेशका धेरै भन्दा धेरै नागरिकहरुको कोरोना परीक्षणमा छौं,’ राईले भने, ‘तिब्बतबाट प्राप्त सामग्रीले परीक्षणमा थप सहयोग पुग्नेछ ।’

प्रदेश १ मा करिब ८ हजारको पीसीआर परीक्षण भइसकेको छ भने १ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये ३० जना उपचारपछि घर फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*