फेरी थपियो लकडाउन, विमानस्थल असार १३ सम्म बन्द
काठमाण्डौ । सरकारले लकडाउन अवधि १२ दिन थप गर्ने निर्णय गरेको छ । शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन अवधि १२ दिन थप गरी जेठ ३२ गते कायम गर्न निर्णय गरेको हो ।
यस अघि सरकारले तय गरेको लकडाउन अवधि जेठ २० गतेसम्म थियो । त्यस्तै बैठकले असार १३ गतेसम्म अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल बन्द गर्ने निर्णय गरेको छ । साथै बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको छ। यस संगै सरकारलाई विदेशमा अलपत्र रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गर्ने बाटो खुलेको छ ।
यस अघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको थियो । विदेशबाट नेपाली फर्काउने काम एक सातापछि शुरु हुने अनुमान गरिएको छ । पहिलो चरणमा २५ हजार नागरिक स्वदेश फर्काइने छ । १३ लाख नागरिक स्वदेश फर्किने सरकारको आकलन छ ।