कोरोना कहर : यी ६ मुलुक, जहाँ संक्रमित धेरै, मृत्यु कम छ

वेलकम खबर
जेष्ठ ५, २०७७

काठमाडौं। सोमबार विहानसम्म कोरोना भाइरस ९कोभिड–१९०बाट संक्रमित हुनेको संख्या विश्वमा ४८ लाख नाघेको छ। मृत्यु हुनेको संख्या ३ लाख १६ हजार ७१९ पुगेको छ। संयुक्त राज्य अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ, जहाँ संक्रमित १५ लाख २७ हजार ६६४ र मृत्यु हुनेको संख्या ९० हजार ९७८ पुगेको छ।

नेपालमा कोरोना संक्रमित संख्या ३०४ पुगेको छ र यसबाट २ जनाको मृत्यु भएको छ। छिमेकी भारतमा कोरोना संक्रमित संख्या दिनप्रतिदिन वृद्धि भइरहँदा त्यहाँ ९६ हजार नाघेको छ। कोरोनाबाट ३ हजार २९ जनाले ज्यान गुमाइसकेका छन्। कतिपय मुलुकमा कोरोना संक्रमितको संख्यामा मृत्यु हुनेको संख्या निकै कम रहेको छ। लाखौंको संख्यामा नेपालीहरु रहेको खाडी मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहे तापनि त्यहाँ मुत्यु हुनेको संख्या निकै कम छ। साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) मा मृत्यु हुनेको संख्या निकै कम छ।

साउदी अरबमा सोमबार विहानसम्म कोरोना संक्रमित संख्या ५४ हजार ७५२ जना पुगेको छ। त्यहाँ कोरोनाबाट ३१२ जनाको मृत्यु भएको छ।
नेपालीहरुको मुख्य श्रम गन्तव्य कतारमा कोरोना संक्रमित संख्या ३२ हजार ६०४ जना पुग्दा १५ जनाको मात्रै मृत्यु भएको छ। यूएईमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ हजार ३५८ जना पुगेको छ। त्यहाँ २२० जनाको मृत्यु भएको छ।

कोरोनाबाट चिलीमा ४३ हजार ७८१ जना संक्रमित हुँदा ४५० जनाको मृत्यु भएको छ। बेलारुसमा २९ हजार ६५० जनामा संक्रमण हुँदा १६५ जनाको मृत्यु भएको छ। सिंगापुरमा २८ हजार ३८ जनामा संक्रमण हुँदा २२ जनाको मृत्यु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*