कोरोनाबाट मृत्यु भएकी महिलाको परिवारका ५ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाका परिवारका ५ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले परिवारका पाँचैजनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।
महिलाको मृत्यु भएपछि महिलाको घर रहेकोे जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चे गाउँबाट परिक्षणका लागि ५५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ, स्वाब संकलन आज पनि जारी छ । संकलीत स्वाबको परिक्षण रिपोर्ट पछि महिलाबाट परिवार, आफन्त र समुदायमा कोरोना सरे नसरेको थाहा पत्ता लाग्नेछ ।
कोरोना भाइरसको कारण आफ्नै गृह जिल्लामा सुत्केरी महिलाको मृत्यु भएपछि सभामुख अग्नि सापकोटाले घटनालाई विशेष चासो दिएर स्वास्थ्य र सुरक्षाका लागि पहल गरेका छन् । आइतबार स्वास्थ्य मन्त्रालय, बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका संयुक्त स्वास्थ्य टोलीले गाउँमा स्वाब संकलन गरेको हो ।
आवश्यकताका आधारमा स्वाब संकलन कार्य जारी रहने नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सुुबोधले जानकारी दिए । पहिलो घेरामा कम्तीमा १ सय जनाको पिसिआर परीक्षणका लागि सूची तयार पारेको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए ।