३५ जना संक्रमित कोरोना जितेर घर फर्किए, २४५ आइसोलेसनमा
काठमाडौ। नेपालमा ९ माघ यता देखिएको कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ३५ जना निको भएर घर फर्किएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै मात्र दुईजना उपचाररत संक्रमित निको भएर घर फर्किएका छन्।रूपन्देहीको बुटवल कोरोना अस्पतालमा उपचाररत २५ वर्षीय युवक ११औं दिनमा र चितवनमा उपचाररत ६३ वर्षीया बृद्धा २६औं दिनमा निको भएर घर फर्किएकी छिन्।
संक्रमित र सम्भावित संक्रमित गरेर २४५ आइसोलेसनमा रहेका मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए। यस्तै, आजै नेपालमा थप दुईजनामा संक्रमण देखिएको छ।धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ३६ वर्षीय पुरुष र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका २२ वर्षीय युवकमा पोजिटिभ देखिएको छ।
योसँगै नेपालमा संक्रमितको संख्या २१९ पुगेको छ।प्रदेश १ मा ३५, प्रदेश २ मा ९६, बाग्मतीमा ९, गण्डकीमा २, प्रदेश नम्बर ५ मा ७२ र सुदूरपश्चिममा ५ जना संक्रमित भेटिएका छन्। कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभर पीसीआर विधिबाट २१ हजार ३४० र आरडीटी किट परीक्षण विधिबाट ६० हजार ३१९ नमूना परीक्षण गरिएका छन्।
पछिल्लो २४ घण्टामा २ हजार ३५७ नमूना पीसीआर विधिबाट परीक्षण गरिएका छन्।
क्वारेन्टाइनमा १४ हजार ३१३ जना रहेका छन्। मोबाइल एप र वेबपेजमार्फत् स्वास्थ्यसम्बन्धी स्वमूल्यांकन फारम भर्ने ३५ हजार ७२३ जना रहेका छन्।
३५४ जना रेडजोनमा परेका छन्। उनीहरू सम्भावित संक्रमित हुन सक्ने मन्त्रालयले जनाएको छ।
केहीदिनदेखि संक्रमितको संख्या बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाउन र सबैलाई संक्रमणको जोखिमबाट बच्न लकडाउनको पूर्ण पालना र सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ।