प्रदेश १ को बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित हुने
विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने बताएका छन । ।
शिक्षा पत्रकार समूहले आइतबार आयोजना गरेको अनलाइन पत्रकार सम्मेलन तथा अन्तक्र्रियामा उनले यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द्रित हुने गरेको थियो भन्दै आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित गरेर आउने जानकारी दिए ।
उनले बजेट निर्धारित मितिमै ल्याउनेबारे छलफल शुरु भएको भन्दै विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा खर्च गरिने बताए ।
उनले भने, “यसअघिका ५१ प्रतिशत बजेट भौतिक पूर्वाधारमा खर्च हुने गरे पनि अब त्यसो हुँदैन ।” आगामी वैशाख २५ गतेसम्मको बन्दाबन्दीपछि शिक्षण संस्था सञ्चालनबारे निर्णय हुने जानकारी दिए ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्थगित भएको एसइई परीक्षा सञ्चालनबारे पनि छलफल भइरहेको उल्लेख गर्दै मन्त्री घिमिरेले परीक्षा केन्द्रको दायरा बढाएर दूरी कायम गरी परीक्षा सञ्चालन गरिने बताए।
उनले प्रदेशका विद्यालयलाई प्रविधिमैत्री बनाउन ग्रामीण भेगमा इन्टरनेट पहुँचबारे अध्ययन भइरहेको बताए।