आउनुस् यौनका कुरा गरौं, कुरा नगर्दा आउँछ समस्या थरीथरीका

वेलकम खबर
बैशाख १५, २०७७

काठमाडौं । डा. सुमनराज ताम्राकारगत हप्ता मात्र मसँग दुईवटा ‘केस’ आए। दुईजना महिला थिए। एकजना १७, अर्काे १८ वर्षका। उनीहरू गाउँ क्षेत्रका थिए। दुवै ‘प्रिग्नेन्ट’ थिए। अस्पताल ल्याएपछि उनीहरूलाई व्यथा लाग्यो।

पहिलो केस, महिलाले बच्चा जन्माइन्। उनी अविवाहित थिइन्। ‘डेलिभरी’ राम्रोसँग भयो, बच्चा स्वस्थ जन्मियो। अब ‘त्यो बच्चाको बाउ को हो’ भन्ने विवाद उठ्यो। डीएनए जाँच गरेर केटो पत्ता लागेपछि मात्रै अस्पतालबाट बाहिर निस्कने भन्छ, केटीको परिवार जब कि हस्पिटलले डिस्चार्ज गरिसक्यो।

दोस्रो केस पनि अविवाहित महिलाकै होे। राम्रैसँग डेलिभरी भयो। बच्चा पनि स्वस्थ जन्मियो। बच्चाको बाबु को हो भनेर केटीलाई मात्र थाहा छ। तर, ऊ बोल्दै बोल्दिनँ। केटीलाई सानीआमा र सानोबुवाले अस्पताल ल्याएका थिए। अस्पताल ल्याएको भोलिपल्ट मात्रै केटीको बुवा आइपुगे। बाबु पत्ता लगाएर छोरीलाई जिम्मा लाएपछि मात्र घर जाने भन्छन्, बाबु।

यी दुई घटना हेरेर मैले भन्न खोजेको के भने हाम्रोमा यौनशिक्षा नै छैन। दुवै युवतीले सुरक्षित यौनसम्पर्क गरेको भए यो अवस्था नै आउँदैनथ्यो। अथवा, कानुनले १२ हप्तासम्मलाई गर्भपतनको मान्यता दिएको छ। त्यसमा पनि महिला पात्रले चाह्यो भने मात्र गर्भपतन गर्न पाउँछ। यस्तो सुविधा पाउँदा पनि उनीहरू त्यसको उपयोग गर्दैनन्।

सुरक्षित यौनसम्पर्कका लागि कन्डम, पिल्सदेखि लिएर अनेक साधन निर्माण भएका छन्। गर्भ नरहोस् भनेर यतिका साधन बजारमा आइसक्दा पनि अझै हाम्रोमा किन हेलचेक्य्राइँ गरिन्छ भन्ने मुख्य प्रश्न हो।

यसले गर्दा हामीकहाँ शिक्षा वा चेतनाको अभाव भएको हो कि जस्तो लाग्छ। अर्कातिर इन्टरनेटबाट हरेक कुरा छिनभरमै थाहा पाउने युगमा पनि हामी त्यतातिर ध्यान दिदैनौं। अब माथिको घटनालाई हेरौं, दुवै युवतीलाई केटाहरूले स्वीकारेनन् भने के हुन्छ ?

समस्या थरीथरीका

यौनका सम्बन्धमा विभिन्न समस्या लिएर बिरामीहरू आउनु स्वाभाविक हो। उमेर समूहअनुसार मानिसहरू विभिन्न जिज्ञासाका साथै समस्या लिएर आइपुग्छन्। टिनेजरहरू विशेषगरी आफ्नो शरीरमा देखिएका परिवर्तनबारे जान्न खोज्छन्। टिनेजर केटाहरू प्रायः हस्तमैथुनका बारेमा जान्न खोज्छन्। दिनमा कतिपटकसम्म हस्तमैथुन गर्नु राम्रो हो, यो ‘एडिक्सन’ हो कि होइन भन्नेजस्ता खुल्दुली हुन्छन् उनीहरूसँग। लिंग बांगो हुनु कुनै समस्या हो कि होइन भनेर सल्लाह लिन आइपुग्छन्।

केटीहरू विशेषगरी महिनावारीको समस्या लिएर आइपुग्छन्। महिनावारी हुँदा किन पेट दुख्छ, महिनावारीमा किन गडबडी हुन्छ भन्नेजस्ता समस्या हुन्छन् उनीहरूसँग। कोहीकोही त महिलामै मात्र किन महिनावारी हुन्छ भन्ने जिज्ञासा पनि राख्छन्। गर्भका सम्बन्धमा उनीहरू जान्न चाहन्छन्। महिनावारी चक्रको कुन समयमा गर्भ बस्छ÷बस्दैन भनेर उनी बुझ्न खोज्छन्।

यौनका समस्या थरीथरीका छन्। कुनैकुनै केसले त हामीलाई नै पनि अप्ठ्यारोमा पारिदिन्छ। यस्ता समस्याचाहिँ विशेषगरी वैदेशिक रोजगारीले जन्माइदिएको छ। श्रीमतीहरू असुरक्षित यौनसम्पर्कमा संलग्न हुन्छन्, गर्भ बस्छ। अब एबोर्सन गरिएन भने त गाह्रो पर्छ। यसले गर्दा उनीहरू गर्भपतन गर्न आइपुग्छन्। गर्भपतन गर्ने समय ढिलो भइसकेको हुन्छ। गर्भपतन नगरिदिए आत्महत्या गर्ने उनीहरूको धम्की हुन्छ।

अब माथिका दुई घटना हेरौं। यहीँ समस्या आइदियो। ती दुई महिलाले सुरक्षित गर्भपतन वा सुरक्षित यौनसम्पर्क गरेको भए अहिलेको स्थिति आउने नै थिएन। त्यसैले मैले भन्न खोजेको के हो भने हाम्रोमा यौनशिक्षा नै छैन। हामीसँग साधन भए तर त्यसलाई उपयोग नै गरेनौं।

यौन शिक्षाको आवश्यकता

नेपाल पनि यौनका मामलामा विस्तारै खुल्दै छ। अहिले त लिभिङ टुगेदर पनि आइसक्यो। छिनभरमै तपाईं पोर्नाेग्राफीका साइटमा पुग्न सक्नुहुन्छ। यति हुँदाहुँदै पनि केही जटिलता छन्।

सुरक्षित यौनसम्पर्कका लागि विभिन्न साधनको विकास भएका छन्। तर, हामीले ती साधनलाई उपयुक्त ढंगले प्रयोग गर्नै जानेनौं। यौन सामग्रीमा नेपालीको पनि पहुँच भयो तर त्यसलाई कसरी उपयुक्त ढंगले प्रयोग गर्ने भन्ने ज्ञानचाहिँ हामीसँग भएन। अब हाम्रोमा यौनशिक्षा दिन जरुरी छ।

विद्यालयमा यसमाथि कमै पढाइन्छ। परिवारमा यसबारेमा बोल्दै बोलिँदैन। बरु लजाइन्छ, धम्क्याइन्छ। यौनका बारेमा कुरा गर्दा समाजमा उसलाई हेर्ने दृष्टिकोणमै परिवर्तन हुन थाल्छ। त्यसैले आउनुस् हमी खुलेरै यौन शिक्षाबारे, यसका समस्याबारे कुरा गरौं, यौनका कुरा गरौं।

स्कुलमा मास्टरहरूले ‘भल्गर’ नहुने हिसाबले यस बारेमा पढाउँदा राम्र्रै हुन्थ्यो। हुन त विद्यालयका शिक्षकले यस विषयमा विद्यार्थीलाई कसरी बुझाउने भनेर तालिम नै पाएका हुँदैनन्। तन्नेरीको यौन जिज्ञासा समाधान गर्ने किसिमको शिक्षा नै भएन हामीकहाँ। टिनेजमा महिला÷पुरुषमा हुने परिवर्तनबारे उनीहरूलाई जानकारी दिन जरुरी छ। केटीहरूमा महिनावारी सुरु हुने र पुरुषमा स्वप्नदोष हुने भन्ने कुरा उनीहरूलाई बुझाउँदै लैजानुपर्छ।

यौन शिक्षालाई हेर्ने दृष्टिकोण फरक छ— गाउँ र सहरी क्षेत्रमा। सहरमा यौनबारे ज्ञान त छ तर एकदमै थोरै। एउटा उदाहरण लिऔं, महिनावारी हुनुभन्दा एक हप्ताअघि र एक हप्ता पछिको समयमा गर्भ रहँदैन। तर, त्यति बेला पनि यौन सम्पर्कपछि औषधि खाइन्छ। यस्ता औषधिको ‘साइडइफेक्ट’ हुन्छ नि। यस्ता सामान्य ज्ञान दिन जरुरी छ।

(यौनमाथि लेखिएको ‘मात्र यौनका कुरा’ किताबका लेखक डा. ताम्राकारसँग किरण दहालले गरेको कुराकानी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*