पाँचथरमा तरकारी आयातमा रोक, रातको समयमा नाका सिल

वेलकम खबर
बैशाख ८, २०७७

पाँचथर, ८ बैशाख । कोभिड–१९ को सङ्क्रमण फैलिनसक्ने खतरा देखिएपछि पाँचथरमा तरकारी आयातमा रोक लगाइएको छ । जिल्लास्तरीय आपूर्ति व्यवस्था अनुगमन, सहजीकरण तथा नियन्त्रण समितिको सिफारिसबमोजिम जिल्ला प्रशासन कार्यालयले आइतबारबाट तरकारी आयातमा रोक लगाएको हो ।

प्रशासनले स्थानीयस्तरमा तरकारी उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउने निर्णयसमेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले जानकारी दिए। झापासहित पूर्वी तराईका जिल्लाबाट हुने तरकारीको आयात सङ्क्रमण विस्तारका दृष्टिले जोखिमयुक्त देखिएपछि रोक लगाइएको न्यौपानेले बताए ।

यस्तै जिल्लास्तरीय सङ्कट व्यवस्थापन समितिको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन रातको समयमा जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको छ । रातको ९ बजेदेखि बिहान ६ बजेसम्म जिल्लाका नाकाहरु राँके, काबेली, छ नम्बर बुधबारे र माझीटार सिल गर्ने उक्त बैठकले निर्णय गरेको सहायक प्रजिअ न्यौपानेले बताउनुभयो । नाकाहरुमा दिउँसोको समयमा समेत उच्च सतर्कता अपनाइने प्रशासनले जनाएको छ ।

३१ जना क्वारेन्टाइनमा

पाँचथरमा अहिले ३१ जना क्वारेन्टाइनमा रहेका छन् । चैत महिना लागेयता जिल्ला बाहिरबाट आएका व्यक्तिलाई समेत अहिले क्वारेन्टाइनमा राखिएको हो । विगतमा यहाँ १०४ व्यक्ति क्वारेन्टाइनमा दुई हप्ता बिताई घर फर्किसकेका छन् । उनीहरु अधिकांश विदेशबाट फर्केका व्यक्ति तथा तिनको परिवारका सदस्य थिए । विदेशबाट फर्केका तथा तिनको सम्पर्कमा आएका व्यक्तिलाई दुई हप्ता क्वारेन्टाइनमा राखी घर पठाइएपछि अधिकांश क्वारेन्टाइन खाली भएका थिए । लामो समयपछि समेत कोभिड–१९ लक्षण देखा पर्ने भएपछि जिल्ला बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राखिएको हो ।

जिल्लाका आठ स्थानीय तहमा २०४ शय्याको क्वारेन्टाइन निर्माण गरिएका छन् तर अधिकांशको सरकारको पछिल्लो निर्णयानुसारको स्तरोन्नति भने हुन सकेको छैन । अहिले क्वारेन्टाइनमा राखिएका केही व्यक्ति भने चैत लागेयता विदेशबाट फर्केका समेत छन् । लुकीछिपी बसेका तथा कोभिड–१९ सँग लक्षण मिल्ने स्वास्थ्य समस्या भएकालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै छ जनालाई जिल्लास्थित अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उच्च ज्वरो आएका तथा कोभिड–१९ सँग लक्षण मिल्ने बिरामीलाई आइसोलेसनमा राखी स्वाब परीक्षणका लागि कोशी अञ्चल अस्पताल पठाइएको हो । हालसम्म पाँचथरमा १७४ को दु्रत डाइग्नोस्टिक परीक्षण (आरडिटी) सम्पन्न भएको छ ।

यस्तै १९ जनाको स्वाब परीक्षणसमेत गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो । पछिल्लो पटक छ जनाको स्वाब परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमुनि सुवेदीले बताए । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*