कोरोना राहत कोषमा फुङलिङको १ लाख ११ हजार सहयोग
ताप्लेजुङ : कोरोना भाइरससँग लड्न फुङलिङ नगरपालिकाले केन्द्र सरकारलाई सहयोग गरेको छ । ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा जम्मा हुने गरी आइतबार प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक प्रदान गरिएको हो ।
विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसँग लडिरहेको केन्द्र सरकारलाई सानो सहयोग गरेको मेयर छत्रपति प्याकुरेलले बताए । ‘हामीले आफ्नो सेवा सुविधा कटाएर जम्मा भएको रकम सहयोग गरेका हौं,’ चेक हस्तान्तरण गर्दै प्याकुरेलले भने, ‘यस विषम परिस्थितिमा सरकारलाई सबैले सकेको सहयोग गरौं ।’
यसअघि सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङले पनि उक्त कोषमा ५० हजार रुपैयाँ प्रदान गरेको थियो । नगरपालिकासहित यहाँका आठवटै गाउँपालिकाले स्थानीयस्तरमा पनि कोष स्थापना गरेका छन् ।
त्यहाँ जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा बराबरको रकम जम्मा गरेका छन् । उक्त कोषमार्फत् दैनिक ज्यालादारी मजदुरलाई राहत प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशराज तिम्सिनाले बताए ।