सशस्त्रका चार जना डीआईजीको पदावधि एक वर्ष थप गर्ने सरकारको निर्णय
काठमाडौं । सशस्त्र प्रहरीका चार जना नायब महानिरीक्षक (डीआईजी) हरूको पदावधि एक वर्ष थप भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आजै राति १२ बजेबाट लागू हुनेगरी सशस्त्रका चार डीआईजीहरूको पदावधि थप गरेको हो ।
यसरी पदावधि थप हुनेहरूमा नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखरा कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा कार्यरत डीआईजी कमल गिरी छन् ।
नीहरू आजै मध्यरातिबाट अवकाशमा जाँदै थिए । सशस्त्रको मुख्यालयले दुई साता अघि नै उनीहरूको पदावधि थप गर्न सिफारिस गरेको थियो । सो सिफारिस गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता गरेको थियो । जसअनुसार मंगलबारको मन्त्रिपरिषद् बैठकले उनीहरूको पदावधि थप गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका डीआईजीको पदावधि चार वर्षको हुन्छ । २२ पुसमा उनीहरू डीआईजी भएको चार वर्ष पूरा हुँदैछ । यो व्यवस्थाअनुसार उनीहरू अनिवार्य अवकाशमा जान लागेका थिए ।
तर, नियमावलीको दफा ६५ कै (ग)को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी)को सिफारिसमा नेपाल सरकारले एआईजी र डीआईजी पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने उल्लेख छ ।