देउवाको गृह प्रदेशमा शेखरलाई भावी सभापति भन्दै १५ किलोको मालासहित नारा

‘सात बुँदे सहमति बमोजिम सरकार चल्नुपर्छ, असफल हुने छुट छैन’
वेलकम खबर
पुस ५, २०८१

सुदूरपश्चिम । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस-एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् । आज धनगढी विमानस्थलमा पत्रकारसँग उनले संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि दुई ठूला दल मिलेर सरकार गठन भएकाले सोही अनुसार जनपक्षी काम गर्नुपर्नेमा जोड दिए ।

यो सरकार संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि बनेको हो । संसद्का ठूला दुई दलबीचको सात बुँदे सहमति भए बमोजिम सरकार चल्नुपर्छ । अहिले सहमतिअनुसार काम नभएको हो कि भन्ने ढङ्गले कुरा भइरहेको छ । यस्तो हुनु हुँदैन’, नेता डा. कोइरालाले भने ।

उनले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नरहेको पनि स्पष्ट पारे । नेता कोइराला पार्टीका शुभेच्छुक सङ्गठनद्वारा आयोजना हुने कार्यक्रममा सहभागी हुन आज धनगढी पुगेका हुन् । उनलाई नेता कार्यकर्ताले १५ किलोग्राम फूलको मालासहित भव्य स्वागत गरेका थिए । देउवाको गृह प्रदेशमा पुगेका कोइरालालाई धनगढी विमानस्थालमा भेला भएका पार्टी नेता कार्यकर्ताले ‘भावी सभापति शेखर कोइराला जिन्दावाद, सुदूरपश्चिमले के भन्छ, शेखर दाइलाई ले भन्छ’ भन्दै नाराबाजी गरेका थिए ।

कोइरालाको साथमा सांसद सुनिल शर्मा, हृदयराम थानीलगायतका नेताहरु सहभागी छन् । कोइरालाले सुदुरपश्चिका ९ जिल्ला सभापतिसहित नेता कार्यकर्तासँग भेट गर्ने तय भएको छ । १५ औं महाधिवेशनको तयारीमा रहेका नेता कोइरालाले ०८२ मंसिरभित्रै महाधिवेशन गराउनुपर्ने दबाब बढाइरहेका छन् । उनले आफ्नो सभापति देउवा र महामन्त्री गगन थापासँग कुनै विवाद नरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*