पाथीभरामा घण्टीको गेट बनाइने, हेलिप्याड सारिने

मदन गौतम
पुस १, २०८१

ताप्लेजुङ । पाथीभरा मन्दिरमा चढाइएको घण्टीलाई आवश्यक व्यवस्थापन गर्ने भएको छ । पाथीभरा क्षेत्र विकास समितिको आज बसेको बैठकले घण्टीको आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेको हो ।  पाथीभरा क्षेत्र विकास समितिका  अध्यक्ष रक्की थेवेले पाथीभरा मन्दिरमा भक्तजनहरूले चढाएको घण्टी पाथीभरा क्षेत्रमा घण्टी गेट घण्टी पार्क बनाउन सकिने गरी व्यवस्थापन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।  त्यस्तै पाथीभरालाई थप व्यवस्थित गर्नका लागि गुरु योजना निर्माण गरी अघि बढाउने निर्णय समेत गरेको छ ।   पाथीभरा क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न आवश्यक पहल अघि बढाउने समेत निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिनुभयो ।  पाथीभरा क्षेत्र विकास समितिका सदस्य तथा फुङलिङ नगरप्रमुख अमिर मादेनले पाथीभरा क्षेत्र विश्व सम्पदा सूचीमा समावेश हुन सक्ने विशेषताले भरिपूर्ण भएकोले सूचीकृतका लागि पहल अघि बढाउनु सकारात्मक भएको बताउँनुहुन्छ । पाथीभरा क्षेत्र धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक महत्व भएको क्षेत्र भएकोले समितिले विश्व सम्पदा सूचीमा समावेश गर्न चाहिने आवश्यक प्रकृया अघि बढाउने निष्कर्ष लिएको क्षेत्र विकास समितिले बताएको छ । तर कुनै ठाउँ वा क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया लामो र झन्झटिलो हुने तथा विवरण पठाएको चार वर्षपछि मात्रै विश्व सम्पदामा राख्ने वा नराख्ने निर्णय युनेस्कोले गर्ने गरेको छ । त्यस्तै पाथीभरा मन्दिर परिसरका रहेको हेलिप्याड सार्ने भएको छ समितिले हेलिप्याड गेट भन्दा बाहिर सार्ने भएको हो ।  समितिले खानेपानी पाइप सोलार बत्ती लगायत आवश्यक सामाग्री माग गर्ने निर्णय समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*