यता फर्किएर लगाउनु पर्छ टीका
काठमाडौं । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
टीका लगाउनका लागि उत्तम साइत खोज्नेहरुका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ११ बजेर ३६ मिनेट तोकिदिएको छ ।
परम्परा अनुसार पूर्वपश्चिम टीकाको साइत हो । पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने गरिन्छ । सामान्यतयाः पूर्वपश्चिम नै हाम्रो पुरानो परम्परा हो ।
दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन छैन । कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्छन् । तर त्यति विस्तृत रुपमा जाने चलन छैन ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य डा. बासुदेव कोइरालाले टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किने र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने बताए ।