इङ्वा खोलाको ९.७ मेगावाट विजुली केन्द्रीय प्रसारणमा जोडियो
पाँचथर । पाँचथर र ताप्लेजुङ जिल्लालाई सिमाना छुट्याएर बग्ने इङवा खोलाबाट उत्पादित ९।७ मेघावाट विजुली केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।
इङ्वा हाइड्रो पावर लिमिटेडले १ सय ९० करोड लगानीमा पाँचथरको याङवरक गाउँपालिका ३ आँपडाडा स्थित स्टेशनबाट उत्पादन गरेको विजुली शनिवारदेखि केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो
हाइड्रो पावरले याङवरक २ फलैंचा स्थि इन्टेकमा बाँध बाँधेर ल्याएको ६.२ घनमिटर पानी पेन स्टक पाइप मार्फत साढेचार किलोमिटर तल रहेको विद्युत गृहमा ल्याएर विजुली उत्पादन गरेको हो ।
यहाँ उत्पादित विजुली विद्युत गृह भन्दा १६ किलोमिटर टाढा रहेको अमपरपुर स्थित स्टेशन मार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।
इङ्वा हाइड्रो पावरले एक हप्ता अघि विजुली परिक्षण उत्पादन सुरु गरेको थियो । परिक्षण सफल भएसँगै शनिवार औपचारिक उद्घाटन गर्दै आफ्नो उत्पादन केन्द्रीय प्रसारण लाइनमा जोड्न सफल भएको सञ्चालक सञ्जिव न्यौपानेले बताए ।
उनका अनुसार इङवा हाइड्रो पावरले ८ मेगावाट क्षमताको क्यास्केट आयोजना पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ । इङवा हाइड्रोले २०७८ साल साउन १ गतेदेखि विद्युत गृह सहितका संरचना निर्माण सुरु गरेको थियो । निर्माण सुरु गरेको छोटो अवधिमै काम सम्पन्न गरेर उद्घाटन गरिएको कम्पनी अध्यक्ष सुमित्रादेवि न्यौपानेले बताइन् ।
न्यौपानेका अनुसार इङ्वा हाइड्रो कुल १ सय ९० करोड लगानीमा निर्माण भएको हो । जस मध्ये १ सय ३० करोड नविल बैंकले लगानी गरेको छ । बाँकी ६० करोड रुपैयाँ प्रवर्द्धकहरुबाट र १२ करोड रुपैंया सर्वसाधारणबाट (आइपिओ) मार्फत जुटाइएको छ । प्रवर्द्धकहरुले गरेको ६० करोड लगानी मध्ये पनि ४८ करोड अपि हाइड्रोको लगानी रहेको न्यौपानेले जानकारी दिए ।-ekantipur