अलैंचीको मूल्य प्रतिमन ७४ हजार

वेलकम खबर
मंसिर २६, २०८०

पाँचथर। अलैंचीको मूल्य प्रतिमन ९४० किलो० ७५ हजार रुपैयाँ हाराहारी पुगेको छ । पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैंचीको मूल्य यस वर्ष सिजनको सुरुवातदेखि नै बढ्दो क्रममा रहेको अलैंची व्यवसायी महासंघले जनाएको छ ।
विशेषतः कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने अलैंचीको मूल्य आइतबार पाँचथरको फिदिममा प्रतिमन ७३ हजार र झापा बिर्तामोडमा ७४ हजार रुपैयाँमा किनबेच भयो ।

बिर्तामोडमा उत्कृष्ट अलैंची प्रतिमन ७४ हजार, मध्यम ७३ हजार र सामान्य गुणस्तरको अलैंची ७२ हजार रुपैयाँमा किनबेच भइरहेको फिदिमका व्यवसायी खेम अधिकारीले जनाए । फिदिममा उत्कृष्ट अलैंची ७३ हजार, मध्यम ७२ हजार र सामान्य गुणस्तरका अलैंची ७१ हजार रुपैयाँमा किनबेच भइरहेको उनको भनाइ छ ।

यस वर्ष सिजनको सुरुमा अलैंची प्रतिमन ५० हजार रुपैयाँ हाराहारीमा खरिदबिक्री भएको थियो । अहिले अलैंचीको मध्यम सिजन चलिरहेको छ । अलैंचीको उत्पादन भदौ दोस्रो सातादेखि सुरु हुन्छ । भदौदेखि कात्तिकसम्म बगानबाट निकालिने अलैंची प्रायः किसानले माघभित्रै बेचिसक्छन् । विगतका वर्षमा फागुनदेखि मात्रै मूल्य बढ्दा किसानले भाउ नपाउने समस्या रहेको फालेलुङ–८ का किसान मधुराज कुरुम्बाङले बताए ।

अलैंची व्यवसायी भने यस्ता नगदे बालीको मूल्य अन्तर्राष्ट्रिय बजारबाटै निर्धारण भएर आउने टिप्पणी गर्छन् । ‘भारत र बंगलादेशसहितका बजारमा माग बढे मूल्य बढ्ने र माग घटे मूल्य पनि घट्ने हुन्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका अलैंची व्यवसायी दीपक नेपालले भने, ‘पछिल्लो समय भारत सिक्किम र भुटानमा पर्याप्त मात्रामा ठूलो दाना भएका अलैंची उत्पादन हुन थालेकाले सिजनमा नेपाली अलैंचीले भाउ पाउँदैन ।’

अलैंची पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । व्यवसायीका अनुसार अलैंचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ । ठूलो दाना, राम्ररी सुकेको र धूवाँ नलगाई सुकाएको अलैंचीलाई ‘क’ श्रेणीको मापदण्डमा राखिएको पनि उनले बताए । नेपालमा उत्पादित अलैंचीको बजार भारत हो । पूर्वी नेपालमा उत्पादित अलैंची झापाको बिर्तामोड हुँदै भारत छिर्छ । त्यसपछि भारतले तेस्रो मुलुक निर्यात गर्दै आएको छ । अलैंची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । अरू अन्न नफल्ने नहुने भिरालो खोल्सा र पाखा भित्तामा पनि उत्पादन हुने भएकाले यसलाई ‘खोल्साको सुन’ भनेर बोलाइने फिदिम–३ का किसान धनबहादुर राईको भनाइ छ ।

अलैंची जस्तै अदुवा र अम्रिसो जस्ता नगदे बालीको न्यूनतम समर्थन मूल्य नतोकिँदा किसानलाई मर्का पर्ने गरेको किसान महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेल बताउँछन् । विशेषगरी पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, इलाम र संखुवासभाका किसानको प्रमुख आयस्रोत नै अलैंची हो । नेपालमा ७ हजार टन अलैंची उत्पादन हुने गरेको कृषि विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७९र८० मा झापाको काँकडभिट्टा नाकाबाट मात्रै २ लाख बोरा अलैंची भारत निर्यात भएको थियो ।-miteree

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*