स्मार्ट सेल डुबाउनले नै एनसेल हात पारे

काठमाडौं । विसं २०८६ पछि कानुनी रुपमा नेपाल सरकारको मातहतमा आउने एनसेललाई कौडीको भाउमा नेपाली लगानीकर्ताकै सक्रियतामा खरिद विक्रि भएपछि सर्वत्र चासोको विषय बनेको छ ।
आजियटाको शेयर खरिदविक्रिमा सर्वत्र चासो
एनसेल र स्मार्ट सेलमा २० प्रतिशत शेयर रहेका सतिसलाल आचार्यले शुरुमा स्मार्ट सेल बन्द गराएर सोको लाइसेन्स एनसेललाई किन्न लगाइ दुरसञ्चारमा एकछत्र राजगर्ने प्रपञ्च खेलेका थिए । सो प्रपञ्चमा सफल भइ आजियताको ८० प्रतिशत अर्थात २ खर्बको शेयर पनि ६ अर्बमा हात पारेपछि यसको भित्रि नियतमा सवैको चासो बढेको छ ।
एनसेल २०८६ सम्ममा वैधानिक रुपमा सरकारले जाने भएपछि आत्तिएको आजियताले सरकारलाई हक हस्तान्तरण गर्नुको सट्टा भित्रि चलखेल गरी ६ अर्बमा नेपाली लगानीकर्ता आचार्यलाई दिएका हुन् । २०८६ सम्म वैधानिक रुपमा आजियतालाई नै नाफा दिने र सरकारलाई हस्तान्तरण गर्ने समयपछिको अधिकार आचार्यको कम्पनीलाई दिइने खेल खेलिएको छ ।
स्मार्ट सेललाई डुबाएर त्यसको लाइसेन्स एनसेललाई भिडाउन कानुनसम्म संशोधन गराइसकेका आचार्यले स्मार्टको लाइसेन्स ६ अर्बमा हात पारेर एनसेललाई पुन ९ वर्ष वैधानिक रुपमा चलाउनेछ । खर्बौंको सम्पत्ति जम्माजम्मी १२ अर्बमा हात पारेर सो पश्चात शेयर निष्काशन गरी कमाउने दाउ आचार्यको रहेको आशंका समेत गर्न थालिएको छ ।
यसैंबीच प्रधानमन्त्री पुष्पकमल दाहालले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुकबाहिरै ८० प्रतिशत सेयर खरिद–बिक्रीको विषयमा तत्काल अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयकाअनुसार राजश्व विभाग लगायतका निकायलाई एनसेलको सेयर खरिदको छानबिन गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री दाहालले सोमबार एनसेलको सेयर बिक्रीमा चासो व्यक्त गर्दै अध्ययनको निर्देशन दिएका हुन् ।यसअघि एनसेलको सेयर बिक्रीमा संघीय संसद्को सार्वजनिक लेखा समितिले पनि चासो व्यक्त गरेको थियो । संघीय संसदका सभामुख देवराज अर्यालले पनि यो विषयमा चासो लिइसकेका छन् ।यसैंबीच एनसेलको शेयर खरिद–विक्री सम्बन्धमा सरकारले अध्ययन गर्ने भएको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको नेतृत्वमा अध्ययन समिति बनाइने भएको छ ।विदेशी लगानी रहेको एनसेलबाट मलेसियन होल्डिङ कम्पनी आजियाटाले ८० प्रतिशत सेयर सतिशलाल आचार्यको कम्पनीलाई विक्री गरेको थियो ।
१ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको ८० प्रतिशत स्वामित्व आजियाटाले ६ अर्ब ६५ करोडमा बिक्री गरेर नेपाल सरकारलाई करमा हानी पु¥याउने उद्देश्य देखिएको भन्दै सरकारले छानविन गर्न लागेको हो ।
सात वर्षअघि स्विडेनको टेलिया सोनेराले एनसेलको ८० प्रतिशत शेयर आजियाटालाई एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक खर्ब ४४ अर्ब ७ करोड रुपैयाँमा बिक्री गरेको थियो। तर आजियाटाले अहिले स्पेक्ट्रेलाइटलाई खरिद गरेको भन्दा ९६.३४ प्रतिशतले घटाएर पाँच करोड अमेरिकी डलर अर्थात् ६ अर्ब रुपैयाँ मात्रै बिक्री गरेको छ।
यो विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठले एनसेलबाट सेयर झिकेर मलेसियन कम्पनी आजियाटाले कर छल्न खोजेको हुनसक्ने शंका गरेकी छन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई पत्र नै लेखेर उनले एनसेल खरिद प्रकरणको अनुसन्धान गर्न आग्रह गरेकी छन् । उनले टेलियासोनेराले आजियटालाई एनसेल बिक्री गर्दा निर्धारण गरेको र आजियटाले कबोल गरेको क्यापिटल गेन कर (पुँजीगत लाभकर) पूर्ण भुक्तानी गरेको छ कि छैन भनेकी छिन् र यसबाहेक ठूला करदाता कार्यालयले थप निर्धारण गरेको कर बक्यौता कति छ र आजियटा बाहिरिएको अवस्थामा तिर्ने जिम्मा कसको हुन्छ भनेर पनि सोधेकी छिन् ।
यो सम्झौता २५ प्रतिशत क्यापिटल गेन करको सट्टा ५ प्रतिशत लाभांश कर तिर्न रचिएको प्रपञ्च त हैन ?भनेर पनि प्रश्न गरेकी छिन् ।
यसैंगरी स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले नेपालमा सञ्चालित निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको कर छली र सेयर खरिदबिक्रीसम्बन्धी भ्रष्टाचार काण्डमा नेपालका सबै राजनीतिक दलका नेताहरूको सहभागिता रहेको आरोप लगाएका छन् । सांसद सिंहले गलत मनसायका साथ छ अर्बमा एनसेलको खरिदबिक्री भएको दाबी गरे ।
उक्त घोटालामा नेपालका बैंकहरु पनि मुछिएको सांसद सिंहको दाबी छ । छ अर्बमा कम्पनी बिक्री भए पनि एनसेलले नेपालका तीनवटा बैंकबाट ४० अर्ब ऋण दिएको उनले बताए ।
एनसेलको २० प्रतिशत सेयरकर्ता शतिषलाल आचार्यको नाममा रहेको सुनिभेरा क्यापिटल भेन्चरको नाममा २०१७ देखि २०२३ सम्म एक सय ५० मिलियन डलर लाभांश विदेश लगेको उनले बताए । २० प्रतिशतवालाले त्यति धेरै डिभिडेन्ट लगेको कम्पनीको सेयर ५० मिलियनमा बिक्री हुन्छ भनेर पत्याउन नसकिने उनले भने ।यसैंगरी प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले सामाजिक संजाल एक्समा ट्वीट गर्दैसांसद केसीले भने, ’१ खर्ब ६४ अर्बमा एजियाटाले किनेको एनसेल ६ अर्बमा बिक्री हुनु, ५ प्रतिशत सेयरको ७ अर्ब र ८० प्रतिशत सेयर बिक्री मूल्य ६ अर्ब भएको कुरा नै सत्य हो भने यो चरम भ्रष्टाचार हो भन्ने कुरा आफैंमा प्रमाणित हुने लेखेका छन् ।-यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।