चीनबाट आज भेरोसेल खोपको ८ लाख डोज नेपाल आइपुग्ने

वेलकम खबर
साउन ७, २०७८

काठमाडौं । चीनबाट आज ८ लाख डोज भेरोसेल खोप नेपाल आउदैछ । हिजो बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाजले दिउँसो काठमाडौंमा खोप ल्याउनेछ ।

आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ । पर्सि ९ गते जाने जहाजले १० गते फेरि खोप नेपाल ल्याउने छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ ।

केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो । यस्तै कोरोना विरुद्धको खोप अभियानअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म ८१ हजारभन्दा धेरैले लगाइसकेका छन् ।

जोन्सन एण्ड जोन्सन खोप अभियान अहिले वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मात्र सञ्चालन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप असार २८ गते नेपाल आइपुगेको थियो ।

यो खोप वैज्ञानिक हिसाबले एक डोज मात्रै लगाउँदा पुग्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*