अमेरिकाबाट जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित १५ लाख डोज कोरोना खोप आउदै, कहिले ?
काठमाडौं । नेपाललाई अमेरिकाले १५ लाख डोज बढी कोरोनाविरुद्ध खोप उपलब्ध गराउने भएको छ । खोप अर्को साता नेपाल आउने बताइएको छ । खोप निःशुल्क उपलब्ध गराउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाललाई खोप उपलब्ध गराउनेबारे जानकारी दिएका हुन् । एक ट्वीट गर्दै उनले भनेका छन्, ‘केही दिनमा अमेरिकाले १५ लाख भन्दा बढी नेपालीलाई पुग्नेगरी कोभीड १९ खोप निशुल्क उपलब्ध गराउँदैछ ।’
नेपालस्थित अमेरिकी दूतावासको आधाकारिक फेसबुक पनि नेपाललाई खोप उलपब्ध गराउने बारे जानकारी दिइएको छ । अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित १५ लाख भन्दा बढी डोज कोरोनाविरूद्धको खोप नेपाल पठाउने छ ।
त्यस्तै नेपालले चीनसँग खरिद गरेको खोप शुक्रबार नेपाल आइपुगेको छ । पहिलो चरणमा कोभिडविरुद्धको ८ लाख डोज खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार चीन गएको नेपाल वायुसेवा निगमको जहाजले शुक्रबार बिहान खोप नेपाल ल्याएको हो । चीनसँग नेपालले ४० लाख डोज खोप ल्याउन सम्झौता गरेको छ । जहाजमा खोप भण्डार क्षमता ८ लाख रहेकाले हाल यतिमात्र ल्याइएको मन्त्रालयले जनाएको छ ।