चीनबाट १० लाख मात्रा खोप आइपुग्यो
काठमाडौं । नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहान भेरोसेल खोप ल्याएको हो ।
खोप लिनको लागि निगमको जहाज हिजो चीन गएको थियो । सरकारले चीनबाट भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म चीनबाट मात्रै १८ लाख मात्रा खोप प्राप्त भएको छ ।
अबको प्राथमिकतामा ६० वर्षमुनिका नागरिक पर्नेछन् । कोरोना खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा ५५ वर्ष र माथिका नागरिक, ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्ति पर्छन् ।
यस्तै, वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीमध्ये दीर्घ रोगी भएका व्यक्ति पनि दोस्रो प्राथमिकताको सूचीमा पर्छन् । ६० वर्षमाथिका केहीले अझै खोपको पहिलो मात्रा नलगाएको भन्दै उनीहरू पनि प्राथमिकतामा पर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार निकट भविष्यमै कोभ्याक्स सुविधाअन्तर्गत जोन्सन एन्ड जोन्सनबाट उत्पादित १५ लाख ३४ हजार ८ सय ५० डोज खोप आउनेछ । खोप कहिले आउने भन्ने ठोस भने भएको छैन ।