चीनबाट १० लाख मात्रा खोप भोली आइपुग्ने, प्राथमिकतामा ६ को ?
काठमाडौं । सरकारले चीनसँग कोरोनाविरुद्ध खोप खरिदका लागि गरेको ‘नन डिस्क्लोजर एग्रिमेन्ट’अन्तर्गत पहिलो चरणमा १० लाख मात्रा भेरोसेल खोप भोलि शुक्रबार नेपाल आउँदै छ ।
नेपाल बायुसेवा निगमको फ्लाइट सेडुअलअनुसार आज खोप लिन निगमको जहाज चीन प्रस्थान गर्नेछ । सरकारले चीनबाट भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म चीनबाट मात्रै १८ लाख मात्रा खोप प्राप्त भएको छ ।
अबको प्राथमिकतामा ६० वर्षमुनिका नागरिक पर्नेछन् । कोरोना खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा ५५ वर्ष र माथिका नागरिक, ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्ति पर्छन् ।
यस्तै, वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीमध्ये दीर्घ रोगी भएका व्यक्ति पनि दोस्रो प्राथमिकताको सूचीमा पर्छन् । ६० वर्षमाथिका केहीले अझै खोपको पहिलो मात्रा नलगाएको भन्दै उनीहरू पनि प्राथमिकतामा पर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार निकट भविष्यमै कोभ्याक्स सुविधाअन्तर्गत जोन्सन एन्ड जोन्सनबाट उत्पादित १५ लाख ३४ हजार ८ सय ५० डोज खोप आउनेछ । खोप कहिले आउने भन्ने ठोस भने भएको छैन ।