आउने भयाे एक डोज लगाए पुग्ने १५ लाख डोज ‘जोन्सन एन्ड जोन्सन’ खोप

वेलकम खबर
असार २४, २०७८

काठमाडाैं . एक डोज लगाए पुग्ने कोरोनाविरुद्धको ‘जोन्सन एन्ड जोन्सन’ खोप नेपाल ल्याइने भएको छ।

कोभाक्स सुविधा अन्तर्गत अनुदानमा अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित ‘जेन्सेन एडी २६.सिओभी.२’ खोप नेपाल ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे हाे।

अहिलेसम्म नेपालमा भारत र चीनबाट ल्याइएका खोप दुई डाेज लगाउनु पर्ने खालका छन्। तर, यो खोप एक डाेज मात्र लगाए पुग्ने विज्ञहरुले बताएका छन्।

१५ लाख ३४ हजार ८५० डोज खोप खोप आउने पक्का भएपछि मन्त्रालयले आयात अनुमतिका लागि औषधि व्यवस्था विभागमा पत्र पठाएको छ। उक्त पत्रपछि विभागले बिहीबार आयातका लागि बाटो खुलाउने सम्भावना रहेको विभागका एक कर्मचारीले जानकारी दिए।

‘कोभ्याक्स अन्तर्गत सुरुमा जोन्सन एन्ड जोन्सनबाट ६ लाख डोज खोप आउने बताइएको थियो। तर, अहिले १५ लाखभन्दा बढी खोप आउने निश्चित भएको छ। खोप आयात गर्न अनुमति दिन पत्रचार गरेका छौं,’ ती कर्मचारीले भने।
नेपाल सरकारले सोझै जोन्सन एण्ड जोन्सनको कम्पनीसँग खोप खरिद गर्ने प्रयास पनि गरेको थियो। यसका लागि छलफल प्रक्रियासमेत अगाडि बढाइएपनि कम्पनीले हाल नेपालाई खोप उपलब्ध गराउन नसक्ने स्पष्ट पारिसकेकाे छ।

यद्यपि, विश्व स्वास्थ्य संगठनले कोभाक्स सुविधा अन्तर्गत नेपाललाई कूल जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप अनुदानमा दिने घाेषण गरिसकेकाे छ। संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि गत फेब्रुअरीमै अनुमति प्रदान गरेको थियो।

यो खोप गम्भीर र अस्पताल भर्ना भएका बिरामीमा ८५.४ प्रतिशत प्रभावकारी देखिएको संगठनकाे दाबी छ। यो खोपलाई माइनस २० डिग्री सेल्सियसको तापक्रममा दुई वर्षसम्म सुरक्षित राख्न सकिने जनाइएकाे छ।

नेपालमा कोभाक्स सुविधा अन्तर्गत हालसम्म अक्सफोर्ड एस्ट्राजेनेको सहयोगमा भारतको सेरम इन्टिस्च्यूटले उत्पादन गर्दै आएको कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज आएको छ।nepallive

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*