एक महिनाभित्र ३४ लाख डोज कोरोना खोप नेपाल भित्रिन्दै
काठमाडौं । नेपालमा एक महिनाभित्र कम्तिमा ३४ लाख डोज कोरोनाविरुद्धको खोप आउने भएको छ । चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको सवा २४ लाख डोज भेरोसेल खोप आगामी तीन साताभित्र काठमाडौं आइपुग्ने भएको हो ।
चिनबाट सिनोफार्मको पहिलो खेप यही असार २५ गते काठमाडौं आइपुग्नेछ । यस्तै साउन १ गते र ८ गते थप दुई पटक खोप काठमाडौं भित्रिनेछ । स्रोतका अनुसार एक पटकमा नेपाल एयरलाइन्सको बिमानले ८ लाख ९ हजार ६०० डोज खोप ल्याउनेछ ।
यसअनुसार तीन पटकमा सवा २४ लाख अर्थात २४ लाख २८ हजार ८०० डोज खोप काठमाडौं आइपुग्नेछ । बाँकी १५ लाख ७१ हजार २०० डोज खोप लिन थप दुई उडान हुनेछन् ।
यसैगरी विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गतका १० लाख डोज जोन्सन एण्ड जोन्सनको खोप एक महिनाभित्र आउने भएको छ ।