नेपालमा २६ जनामा कालो ढुसीको संक्रमण पुष्टि, २ जनाको आँखा निकालियो
काठमाडौं । छिमेकी भारतमा कोभिडका बिरामीमाझ प्रकोपका रूपमा देखिएको म्यूकोर्माइकोसिस नेपालमा पनि देशभरि अहिलेसम्म करिब २६ जना बिरामीमा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
तीमध्ये महाराजगन्जस्थित शिक्षण अस्पतालमा मात्रै जेठ ३ गतेयता १३ जना भर्ना भएको उक्त अस्पतालका डा। रवीन्द्रभक्त प्रधानाङ्गले बताए।
गएको शनिवारमात्रै थप दुई जना बिरामी भर्ना भएका र उनीहरूको अवस्था गम्भीर रहेको प्रधानाङ्गले बताए।
धेरैजसो बिरामी समय घर्किसकेपछि अस्पताल आउँदा जटिलता धेरै आउने र आँखा नै नदेख्ने हुने गरेको उनले बताए।
‘म्यूकोर्माइकोसिस भएका एकजना बिरामीले ज्यान नै गुमाउनुभयो भने दुईजनाको आँखा निकाल्नुपर्यो। पछिल्लो पटक भर्ना हुन आएका दुईजना बिरामीको पनि अवस्था गम्भीर छ’ डाक्टर प्रधानाङ्गले भने।
वैकल्पिक औषधि
म्यूकोर्माइकोसिसका बिरामीलाई मुख्यतया ुएम्फोटेरिसिन बी नामको औषधि दिइने गरिएको र अहिले उक्त औषधिको उपलब्ध नभएको मन्त्रालय तथा उपचारमा संलग्न चिकित्सकहरू बताउँछन्।
डाक्टर प्रधानाङ्गले भने, यो औषधि अहिले बजारमा छैन। त्यसैले अहिले बिरामीले विकल्पका रूपमा पोसाकोनाजोल प्रयोग गरिरहेका छन्।
उनका अनुसार एम्फोटेरिसिन बीको दाँजोमा पोसाकोनाजोल सस्तो छ तर यसका साइड इफेक्टहरू धेरै छन्।
एम्फोटेरिसिन बीलाई भारतले निर्यात प्रतिबन्धित औषधिुको सूचीमा राखेपछि नेपालले म्यूकोर्माइकोसिसका बिरामीको उपचारका लागि विश्व स्वास्थ्य सङ्गठनसँग उक्त औषधिको ३ हजार भाइल पठाउन अनुरोध गरेको थियो।
म्यूकोर्माइकोसिसको उपचारमा प्रयोग हुने एम्फोटेरिसिन बी एकजना बिरामीका लागि करिब ८० वटा भाइल आवश्यक पर्ने उपचारमा संलग्न चिकित्सकहरू बताउँछन्।
भारतीय मूल्यमै पाइए पनि सामान्य हिसाबमा एकजना बिरामीका लागि औषधि मात्रै कम्तीमा ८ लाख पर्न जाने देखिन्छ।
डब्लुएचओले पठाएको अनुदानको औषधि बिरामीलाई निःशुल्क दिइएको भए पनि पोसाकोनाजोल भने बिरामीले आफ्नै खर्चमा किनिरहेका छन्।
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या घटिरहँदा म्यूकोर्माइकोसिसका बिरामी पनि घट्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ।बिबिसी