मेरिङदेनले ल्यायो हामी सानै छौं बढ्न देऊ, विवाह होइन पढ्न देऊ अभियान, बजेट ४१ करोड १६ लाख

नीति कार्यक्रम तथा बजेट सहित
वेलकम खबर
असार ९, २०७८

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाँउपालिकाले हामी सानै छौं बढन देऊ, विवाह होइन पढ्न देऊ अभियान ल्याएको छ । बुधवार आर्थिक बर्ष २०७८र०७९ को वार्षिक नीति तथा कार्यक्रम मार्फत बालविवाहमुक्त गाउँपालिका निर्माणको लागि सचेतनामुलक कार्यक्रमका अलावा रोकथाम तथा नियन्त्रणका लागि अभियानकै रुपमा कार्यक्रम ल्याएको हो । । पालिकाले ४१ करोड १६ लाख ४९ हजार रुपैंयाको बजेट समेत ल्याएको छ ।
जसमा चालुतर्फ २७ करोड ५८ लाख २३ हजार र पुँजीगततर्फ १३ करोड ५८ लाख २९ हजार  बिनियोजन भएको छ । गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फेद्धारा प्रस्तुत बजेट अनुसार पालिका भरीका ६ वटा वडालाइ प्रत्येकका लागि ६ लाख रुपैंंयाका दरले चालू खर्च बिनियोजन भएको छ । पुँजीगततर्फ प्रत्येक वडालाइ न्यूनतम् ६० लाख र बाँकी सुत्रमा आधारित गरेर ४ करोड ३१ हजार रुपैंया बिनियोजन भएको छ ।

पालिकाको पाँचौं गाउँसभा तथा बजेट अधिबेशनमा प्रस्तुत बिबरण अनुसार चालू आर्थिक बर्ष २०७७।०७८ को ८ असार सम्मको चालू खर्च ६१ं.९४ प्रतिशत रहेको छ । प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेका अनुसार चालू आवका लाग चालूतर्फ २६ करोड ३१ लाख ७७ हजार रुपैंया बजेट बिनियोजन भएको थियो । यस्तै पुँजीगततर्फ ५०.८० प्रतिशत खर्च भएको छ । चालू आवका लागि पुँजीगत खर्च १५ करोड ३१ लाख ७२ हजार रुपैंया रहेको थियो ।

       

मेरिङदेन गाउँपालिकाको आगामी आव २०७८/०७९ को बार्षिक बजेट, नीति तथा कार्यक्रम

                                                             बक्तव्य

श्रद्देय सभा अध्यक्ष महोदय,

मेरिङदेन गाउँपालिकाको उपाध्यक्ष साथै बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजकको हैसियतले कोभिड-१९ बाट सिर्जित विषम परिस्थितिमा पनि यस गरिमामय सभामा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम पेश गर्न उपस्थित भएको छु । यस घडिमा ऐतिहासिक आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात-अज्ञात महान सहिदहरु प्रति भावपूर्ण श्रद्दासुमन व्यक्त गर्न चाहन्छु । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीबाट जीवन गुमाउनुहुने सबैनागरिकहरुप्रति भावपूर्ण श्रद्दाञ्जली व्यक्त गर्दछु । कोभिड-१९ को महामारीबाट प्रभावित उपचाररत सम्पूर्णमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यस्तो विषम परिस्थितिमा पनि अग्रपंक्तिमा खटिरहनुभएका सबै स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि तथा सम्पूर्ण नागरिकहरुप्रति हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्दछु । नेपालको संविधान जारी भएपछिसंघिय लोकतान्त्रिक गणतन्त्रले हामीलाई दिगो शान्ति, स्थायित्व, विकास, समृद्दि, सामाजिक न्याय र समाजवादतर्फ अघि बड्ने आधार दिएको छ । यसले स्थानीय सरकारलाई घरको जग जस्तै आवश्यकता महशुस गरेको छ । नेपालको संविधानले निर्दिष्ट गरेका अनुसार स्थानीय सरकारको अधिकार क्षेत्र भित्र रहि उपलब्ध स्रोत तथा साधनहरुको परिचालन गरि मेरिङदेन गाउँपालिकाले सर्वाङ्गिण विकासको लागि कार्य गरिरहेको विदितै छ ।सिमित स्रोत तर असिमित विकासका लक्ष्यहरुमा पुग्नको लागि विनियोजन दक्षता, कार्यान्वयन कुशलता र वित्तीय अनुशासन पालना गर्न चुनौतीपूर्ण रहेको छ ।

नेपालको संविधानले अंगिकार गरेको राष्ट्र तथा राज्य निर्माणको मार्गमा मेरिङदेन गाउँपालिकाले अग्रगामी कदमहरु निरन्तर रुपमा चलायमान पार्ने प्रतिवद्दतालाई आत्मसात गर्दै स्थानीय सरकारको प्रत्याभूति जनस्तरमाझ पुर्‍याउने कार्यमा अहोरात्र कार्यसम्पादन गरिरहेको छ । स्थानीय सरकारलाई सारभूत रुपमा अनुभूति गराउनको लागि पन्ध्रौं राष्ट्रिय योजना (२०७६/०७७ -२०८०/०८१) ले निर्दिष्ट गरेका लक्ष्यहरु, प्रदेश नं. १ को प्रथम पञ्चवर्षिय विकास योजना (२०७६/०७७-२०८०/०८१) ले राखेको दीर्घकालिन समष्टिगत लक्ष्यहरु साथै मेरिङदेन गाउँपालिकाको पञ्चवर्षिय आवधिक योजना (२०७७/०७८-२०८१/०८२) ले मेरिङदेन गाउँपालिकाको दीर्घकालीन सोच “कृषि, पर्यटन र पूर्वाधारः मेरिङदेन समृद्दिको आधार” ले निर्दिष्ट गरेका समष्टिगत लक्ष्य अनुरुप कार्यान्वयन गर्न साथै चुनावी घोषणापत्रलाई महत्वपूर्ण आधारको रुपमा लिएको छु ।

श्रद्देय सभा अध्यक्ष महोदय,

यस गाउँपालिकाको चालु आ.व. २०७७-०७८ को अवस्थाको बारेमा संक्षिप्त रुपमा प्रस्तुत गर्दछु । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीको असरबाट यस गाउँपालिकाको गतिविधि प्रभावित भएको छ । कोभिड-१९ को महामारीका बावजुद पनि चालु आ.व. २०७७-०७८ को जेठ महिनासम्म यस गाउँपालिकाबाट राजस्व अनुमानित रकम रु.१९,७५,०००।– (अक्षरेपी उन्नाईस लाख पचहत्तर हजार रुपैंया मात्र)रहेकोमा सो भन्दा बढी रकम रु.१३,२६,४३४।– (अक्षरेपी तेह्र लाख छब्बीस हजार चार सय चौंतीस रुपैंया मात्र) संकलन भई कुल जम्मा रु.३३,०१,४३४।– (अक्षरेपी तेत्तीस लाख एक हजार चार सय चौंतीस रुपैंया मात्र) रकम जम्मा भएको र चालु आ.व. को असार मसान्त सम्ममा रु.३५,००,०००।– (पैंतीस लाख रुपैंया मात्र) सम्म पुग्ने अनुमान गरेको छु । चालु आ.व. २०७७/०७८ मा चालु खर्च तर्फ रु.२६,३१,७७,०००।– (अक्षरेपी छब्बीस करोड एकतीस लाख सतहत्तर हजार रुपैंया मात्र) विनियोजन भएकोमा असार ८ गते सम्मको खर्च प्रतिशत ६१.९४ प्रतिशत रहेको छ । पूँजिगत तर्फ रु. १५,३१,७२,०००।– (पन्ध्र करोड एकतीस लाख बहत्तर हजार रुपैंया मात्र) विनियोजन भएकोमा असार ८ गते सम्मको खर्च ५०.८० प्रतिशत रहेको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ मा वडागत खर्च चालु तर्फ रु.६,००,०००।– (अक्षरेपी छ लाख रुपैंया मात्र) को दरले प्रत्येक वडाहरुलाई बजेट विनियोजन गरेको छु । पूँजिगत खर्च तर्फ प्रत्येक वडाहरुलाई न्यूनतम रु.६०,००,०००।– (अक्षरेपी साठ्ठी लाख रुपैंया र बाँकी सूत्रमा आधारित गरेर जम्मा रु.४,००,३१,०००।– (अक्षरेपी चार करोड एकतीस हजार रुपैंया मात्र) बजेट विनियोजन गरेको छु । आ.व. २०७८/०७९ को चालु तर्फ रु. २७,५८,३३,०००।– (अक्षरेपी सत्ताईस करोड अन्ठाउन्न लाख तेत्तीस हजार रुपैंया मात्र) र पूँजिगत तर्फ रु. १३,५८,१६,०००।– (अक्षरेपी तेह्र करोड अन्ठाउन्न लाख सोह्र हजार रुपैंया मात्र) गरि जम्मा बजेट रु. ४१,१६,४९,०००।– (अक्षरेपी एकचालीस करोड सोह्रलाख उनन्चास हजार रुपैंया मात्र) विनियोजन गरेको छु ।

“मेरिङदेनको पहिचानः समृद्दिको अभियान” लाई सार्थकता दिन सबै विचारधाराका निर्वाचित जनप्रतिनिधिहरु, विकास साझेदार तथा सरोकारवालाहरु, स्थानीय वुद्धिजिवीहरु, पेशाकर्मी, नागरिक समाज, दबाब समूह, शिक्षकवर्ग, विद्यार्थीहरु, सञ्‍चारकर्मीहरु, सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु, दातृ निकायहरु, अन्तर्राष्ट्रिय संघ-संगठनहरु, श्रमिक वर्ग, व्यवसायी, जनसमूदायहरुले दिनुभएको औपचारिक तथा अनौपचारिक सल्लाह सुझावको कदर गर्दै मेरिङदेन गाउँपालिकाले तय गरेको वार्षिकनीति, कार्यक्रम तथा बजेट कार्यान्वयनको लागि सबैको आ-आफ्नै ठाउँबाट सद्प्रयासको अपेक्षा राखेको छु ।

श्रद्देय अध्यक्ष महोदय,

अव म आगामी आर्थिक बर्ष २०७८/०७९ मा मेरिङदेन गाउँपालिकाले अंगिकार गर्ने मुख्य-मुख्य नीति तथा कार्यक्रमहरुलाई यस गरिमामय सभामा समक्ष पेश गर्ने अनुमति चाहन्छु ।

सडक तथा अन्य पूर्वाधार विकास सम्बन्धी नीति-

  • मेरिङदेन गाउँपालिकाको MTMP (Municipality Transportation Master Plan) निर्माण गरिनेछ ।
  • गाउँपालिकाका सबै वडालाई सडक सञ्जालमा जोडी बाह्रै महिना यातायातको पहुच पुर्याउनका लागि नयाँ सडक निर्माणका साथ-साथै प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सडक स्तरोन्नतिगर्ने नीति लिईनेछ ।
  • गाउँसभाबाट स्वीकृत भएको पुर्वाधार तर्फका कार्यक्रमहरुलाई समयमा नै सम्पन्न गर्नका लागि कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ ।
  • स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै अधिकतम जनसहभागिता जुट्ने योजना तथा कार्यक्रमलाई प्राथमिकता दिने नीति लिईनेछ ।
  • निर्माण तर्फका उपभोक्ता समितिहरुलाई योजना तथा कार्यक्रम सञ्चालनमा सहजता ल्याउन रु. पाँचलाख भन्दा माथिका योजनाहरु सञ्चालन गर्नका लागि नियमानुसार पेश्की उपलब्ध गराउने नीति अलवम्बन गरिने छ ।
  • सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम रु.१० लाख वा सो भन्दा माथिकासम्पूर्ण पूर्वाधार निर्माण अनिवार्य ईबिड दरभाउपत्र/बोलपत्र तथा अन्य रु.५ लाख वा सो भन्दा माथिका कार्यक्रमहरु दरभाउपत्र/बोलपत्र मार्फत मात्र सञ्चालन गर्ने नीति लिईनेछ ।
  • गाउँपालिकाबाट निकासी हुने गोलिया काठको ढुवानीबाट अधिकांश कच्ची सडकहरु बिग्रने र भत्किने भएको हुँदा सिफारिस दस्तुरका अलावा सडक मर्मत सम्भार खर्च वापत प्रति रुख रु.१००।– (अक्षरेपी एक सय मात्र) थप दस्तुर लिईनेछ ।
  • मेरिङदेन-५ र ६ नं. जोड्ने लङ्वाखोला मोटरेवल पुल निर्माण कार्यलाई निरन्तरता दिईनेछ ।
  • मेरिङदेन गाउँपालिकाको केन्द्र सम्म पक्की सडक पुर्याउने संघिय सरकारको घोषित नीति तथा कार्यक्रम रहेको हुँदा सोको कार्यान्वयन गर्न आवश्यक पहल गरिनेछ ।
  • वडा नं. १, ४, ५ र ६ मा यसै वर्षसम्बन्धित विद्युत सहकारी संस्था मार्फत केन्द्रीय विद्दुत प्रशारण लाईन पुर्याईनेछ ।
  • यस गाउँपालिकामा निर्माण भएका गाउँपालिका स्तरीय सडकहरुको नापी कार्यालय ताप्लेजुङसँगको सहकार्यमा लगत कट्टाको व्यवस्था मिलाईनेछ ।

स्वास्थ्य सम्बन्धी नीति

  • आधारभूत तथा आकस्मिक सेवाको लागि निशुल्क औषधि वितरणको व्यवस्थालाई निरन्तरता दिईनेछ ।
  • ५ शैय्याको अस्पताल सञ्चालन नभए सम्मको लागि सान्थाक्रा स्वास्थ्य चौकी मातहत रहने गरि एक वटा एम्बुलेन्सको व्यवस्था गरिनेछ ।
  • गर्भवती तथा सुनौलो हजार दिनको मापदण्ड भित्र पर्ने न्यूनतम पोषण भत्ता प्रदान गर्ने नीति लिइनुका साथै स्वास्थ्य संस्थाहरुमा आमा तथा बच्चाको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइनेछ । संघिय सरकारद्वारा स्वीकृत बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यान्वयन गर्दै लगिनेछ । थिङलाबु, सान्थाक्रा, महाश्रेङ र नाल्बु स्वास्थ्य चौकीहरुमा संस्थागत प्रसुति सेवालाई प्रभावकारी बनाउन ZERO HOME DELIVERY को नीतिलाई यस बर्ष पनि निरन्तरता दिइनेछ ।घरमा शुन्य सुत्केरी अभियान कार्यक्रमको प्रभावकारिकता मापन गर्नको लागि “Effectiveness analysis of zero home delivery campaign” नामक सर्वेक्षण कार्यक्रम संचालन गरिनेछ ।
  • गाउँपालिकाको केन्द्र सुलुम्फीमा रहेको सान्थाक्रा स्वास्थ्य चौकीको प्रयोगशाला (Laboratory) सञ्चालनलाई निरन्तरता दिईनेछ ।
  • महिला स्वास्थ्य स्वयमसेविकाहरुको लागि प्रोत्साहनका लागि सञ्चार, खाजा तथा यातायात खर्च वापत मासिक रु.५००।- को व्यवस्था गरिनेछ ।
  • क्यान्सर, मुटू, मृगौलाको शल्यक्रिया वा उपचारका लागि रु.२०,०००।– (अक्षरेपी बीस हजार रुपैंया मात्र) रकम विगत वर्षहरुमा उपलब्ध गराईदै आएकोमा यसलाई निरन्तरता दिईनेछ ।
  • कुपोषणबाट अति प्रभावित बालबालिकाहरुको स्वास्थ्यमा पर्याप्त ध्यान दिईनेछ । उपचार गर्न गाउँपालिकाको प्राविधिक क्षमताले नसकिने बालबालिकाहरुलाई सम्बन्धित निकायमा सिफारिस गरि पठाईनेछ ।
  • नसर्ने रोग सम्बन्धि स्वास्थ्य सेवा उपलब्धिलाई सुनिश्‍चित गर्दै दिगो विकासका लक्ष्‍यहरु हासिल गर्ने कार्यदिशा तर्फ अघि बढन “म स्वस्थ:मेरो पालिका स्वस्थ” स्वास्थ्य प्रवर्द्धन अभियान कार्यक्रम संचालन गरिनेछ ।
  • विधालयका बालबालिकाहरुको शारिरिक, मानसिक, संवेगात्‍मक र शैक्षिक स्तरमा विकास गर्न आधारभुत विधालय स्वास्थ्य तथा पोषण कार्यक्रम (प्याकेज) संचालन गरिनेछ ।
  • नेपालको संविधानले सम्पूर्ण नेपालीहरुलाई न्युनतम आधारभुत स्वास्थ्य सेवा नि:शुल्क उपलब्‍ध गराउने प्रतिबद्धता अनुरुप स्वास्थ्य संस्थाहरुको लागि चाहिने न्युनतम सेवा मापदण्‍ड कार्यक्रम कार्यान्वयनको लागि उचित रकम व्यवस्थापन गरिनेछ ।
  • पाठेघर खसेका तथा VIA Reactive महिलाहरुको अप्रेशन तथा उपचार खर्चको लागि रकम व्यवस्था गरिनेछ ।
  • कोभिड-१९ को महामारीबाट बच्न तथा बचाउनको लागि रु.२५,००,०००।– (अक्षरेपी पच्चीस लाख रुपैंया मात्र) को कोष खडा गरिनेछ । कोभिड-१९ अस्थायी अस्पतालको सञ्चालनलाई निरन्तरता दिईनेछ ।
  • कोभिड-१९ बाट प्रभावित स्वास्थ्यकर्मीहरुको लागि रु.१०,००,०००।– (अक्षरेपी दश लाख मात्र) बराबरको जिवन विमाको व्यवस्था गरिनेछ । स्वास्थ्यकर्मीहरुलाई पटक-पटक कोभिड-१९ पोजिटिभ देखिएमा रु.२०,०००।– (अक्षरेपी बीस हजार मात्र) एकामुष्ठ स्वास्थ्य लाभ खर्च उपलब्ध गरिनेछ । कोभिड-१९ रोगबाट प्रभावित विरामीको उपचार, स्वाब संकलन तथा अग्रभागमा खटिने कर्मचारीहरुलाई खाईपाई आएको रकमको शतप्रतिसत प्रोत्साहन भत्ता उपलब्ध गरिनेछ भने अन्य स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत सम्म उपलब्ध गराउन सकिनेछ ।

आयुर्वेद सम्बन्धि नीतिहरु

  • निशुल्क रुपमा विभिन्न किसिमका आयुर्वेदिक औषधि प्रत्येक वडामा वितरण गर्ने, प्रचार-प्रसार गर्ने नीति लिईनेछ ।

शिक्षा सम्बन्धी नीतिहरु-

  • मेरिङदेन गाउँपालिकाको गाउँ शिक्षा योजना (२०७८/०७९ – २०८८/०८९) निर्माण गरिनेछ ।
  • अन्तर्क्रिया तथा छलफल लगायतका क्रियाकलापसञ्चालनबाट सहभागितामुलक निर्णय प्रक्रिया अबलम्बन गर्न विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक तथा विद्यार्थीहरुको समेत सहभागिताको सुनिश्चितता गर्ने नीति लिईनेछ ।
  • १६ वर्ष भन्दा मुनिका असहाय टुहुरो बालबालिकाहरुलाई विद्यालयको पहुँचमा पुर्‍याई विद्यालय भर्नादर शतप्रतित पुर्‍याउनका लागि “विशेष शैक्षिक प्रोत्साहन कार्यक्रम” सञ्चालनको लागिप्रतिव्यक्ति मासिक रु.५००।- को व्यवस्था निरन्तरता दिईनेछ ।
  • गाउँपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा अनिवार्य रुपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने व्यवस्था मिलाईनेछ ।
  • गुणस्तरीय शिक्षाका लागि परिक्षा प्रणालीलाई व्यवस्थित र मर्यादित बनाउनको लागिफरक विद्यालयको शिक्षकलाई केन्द्राध्यक्ष तोक्ने व्यवस्था गरी गाउँपालिका स्तरीय परिक्षा सञ्चालन गरिनेछ । साथै विद्यालयहरुको नियमित अनुगमनको व्यवस्था मिलाईनेछ ।
  • संघिय सरकारबाट सशर्त अनुदान वापत प्राप्त भएको दिवा खाजा कार्यक्रम सबै सामुदायिक विधालयहरुमा प्रभावकारी रुपमा लागु गरिने छ ।
  • संघिय सरकारबाट बालविकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरुको तलबमा तोकिए बमोजिम थप गरिएको छ ।
  • अनौपचारिक शिक्षा मार्फत मेरिङदेन गाउँपालिकालाई“साक्षर गाउँपालिका” घोषणा गरिनेछ ।
  • शैक्षिक विकासका लागि गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरुको शिक्षक दरबन्दीको पुनरावलोकन गरिनेछ । विद्यार्थीको आधारमा शिक्षक दरवन्दी कायम गरिने नीतिलाई कडाईका साथ लागु गरिनेछ । कम दरबन्दी भएका विध्यालयहरुमा हाल कार्यरत निजी शिक्षकहरुलाई निरन्तरता दिएर नयाँ निजी शिक्षक नियुक्तीलाई बन्द गर्ने व्यवस्था गरिनेछ ।
  • स्थानीय स्तरमै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि श्री पृथ्वी माध्यमिक विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षालयलाई निरन्तरता दिईनेछ ।
  • स्थानीय भाषा, लिपी तथा संस्कृतिको संवर्द्धन र सिकाइमा मातृभाषाको महत्वलाई मध्यनजर गर्दै स्थानीयमातृभाषाको पठनपाठनलाई निरन्तरता दिइने छ ।स्थानीय भाषा स्वयंसेवक शिक्षकहरुको जिवन निर्वाह खर्चमा खाईपाई आएकोमामासिक रु.३,०००।– (अक्षरेपी तीन हजार रुपैंया मात्र) थप गरिनेछ ।
  • श्री जाल्पादेवी आधारभूत विद्यालयमा मिनि संग्रहालय सञ्चालनको लागि बजेट व्यवस्था गरिनेछ ।
  • श्री बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालय मेदिबुङ फुङलिङ-३ मा हाईड्रोपावर ईन्जिनियरिङ विषय अध्ययनको लागि छात्र-१ तथा छात्रा-१ जनालाई छात्रवृत्तिको व्यवस्था गरिनेछ ।
  • संघिय सरकारबाट प्राप्त सशर्त अनुदान तर्फको राष्ट्रपति रनिङ कप प्रतियोगितामा आवश्यक रकम थप गरि कार्यक्रम कार्यान्वयन गरिनेछ ।

युवा तथा खेलकुद सम्बन्धी नीति-

  • गाउँपालिका भित्रका युवाहरुको खेल प्रति आकर्षण तथा प्रतिष्पर्धालाई व्यवस्थित गर्न मेरिङदेन गाउँपालिका अध्यक्ष रनिङ कप प्रतियोगितालाई निरन्तरता दिइनेछ ।
  • “मेरिङदेनका युवा खेलकुदका लागि राष्ट्रका लागि” भन्ने मूल नाराका साथ प्रत्येक वडामा खेलकुद सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिईनेछ ।
  • युवा उधमसिलता कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति लिईनेछ ।

कृषि विकास सम्बन्धी नीति-

  • अलैंची साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) तथा बंगुरको साना व्यवसायिक कृषि (पकेट) विकास कार्यक्रम सञ्चालन गरिने तथा यस अघिका कृषि पकेट क्षेत्रहरुलाई निरन्तरता दिईनेछ ।
  • तरकारीमा आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाको कृषकहरुलाई निशुल्क बिउबिजन वितरणको कार्यलाइ निरन्तरता दिईनेछ ।
  • कृषि उपजको उत्पादन सामाग्री बजारीकरण तथा व्यवस्थापनको लागि “कृषि संकलन केन्द्र”निर्माणको निति लिइने छ ।
  • कृषक तथा पशुपालक समुहहरु मार्फत मात्र कार्यक्रम कार्यान्वयन गर्ने नीति लिईनेछ ।
  • गाउँपालिका भित्रका उत्कृष्ट कृषक तथा उद्यमी छनौट गरी पुरस्कार प्रदान गरि उत्प्रेरित गर्ने नीति क्रमशः कार्यान्वयन गरिँदै जानेछ ।
  • व्यवसायिक फलफुल तथा बोटविरुवा जडिबुटीको प्रवर्दन गर्नका लागि वडा नं. ६ मा स्थापित नर्सरीकार्यक्रमलाई निरन्तरता दिईनेछ ।

सहकारी सम्बन्धी नीति

  • गाउँपालिका क्षेत्र भित्रका स्थापित सहकारीहरुलाई कार्यालय सञ्चालन गर्नको लागि आवश्यक पुनर्ताजगि कार्यक्रम सञ्चालन गरिनेछ ।
  • गाउँपालिकामा दर्ता भएको सबै प्रकारको सहकारीहरुको नियमन गर्ने कार्यलाई प्रभावकारी बनाउने नीति अवलम्बन गरिनेछ ।

पशु विकास सम्बन्धी नीति-

  • ८०/२० कार्यक्रम सञ्चालन तथा अनुदानमा दुग्धजन्य तथा मासु जन्य पशुहरुको नश्ल सुधार कार्यक्रम, गोठ सुधार कार्यक्रम, व्यवसायिक पशु फर्म स्थापना जस्ता कार्यक्रम लागू गरिनेछ ।
  • पशु आहारको लागि हिउँदे तथा वर्षे घाँसको बिऊ वितरण तथा उत्पादनलाई प्रोत्साहित गरिनेछ ।
  • प्रतिशत अनुदानमा कृतिम नश्ल सुधार कार्यक्रम (AI)कार्यान्वयन गरिनेछ । प्राविधिक खर्च वापत रु.४००।– र गाउँपालिकामा राजस्व प्रयोजनको लागि रु.१००।– गरि जम्मा रु.५००।– किसानले व्यहोर्ने व्यवस्था मिलाईनेछ ।

पर्यटन सम्बन्धी नीति

  • “मेरिङदेन झरना” को सिमाना मैवाखोला गाउँपालिका ताप्लेजुङसँग समन्वय गरि यकिन गरिनेछ । “मेरिङदेन झरना” को थप प्रचार प्रसार गरि पर्यटक आवागमनको लागि थप पूर्वाधार विकासको नीति लिईनेछ ।
  • आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन जैविक-पर्यापर्यटन प्रवर्द्दनका लागि “सुर्मा- देवलडाडा-कागोनेमयुर संरक्षणक्षेत्र”कोनिरनतरता दिईनेछ । सुन्दर पंक्षि मयुरको संरक्षण र सम्बर्द्दनलाई सामाजिक, सांस्कृतिक आख्यान सँग जोड्ने, प्रचार-प्रसार गर्ने,आहार व्यवस्थापन रेखदेख, संरक्षण र सम्वर्द्दन गर्न”मयुर हेरालु“समेतको व्यवस्था निरन्तरता दिईनेछ ।
  • मेरिङदेन गाउँपालिकाका अन्य सम्भाव्य पर्यटकीय स्थलहरुको अध्ययन अनुसन्धान गरिनेछ ।

भवन सम्बन्धी नीति

  • भुकम्प प्रतिरोधी घर निर्माणका लागि सिकर्मी डकर्मीहरुका लागि तालिमको व्यवस्था गरिनेछ ।
  • घर नक्सापास तथा अभिलेखिकरण गर्नका लागि आवस्यक व्यवस्था गरिनेछ ।
  • गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणलाई निरन्तरता दिईने तथा सान्थाक्रा स्वास्थ्य चौकी/बर्थिङ सेन्टर भवनको निर्माण सम्पन्न गरिनेछ ।
  • खाम्लुङ स्वास्थ्य चौकीलाई ५ शैय्याको अस्पताल निर्माणको लागि संघिय सरकारद्वारा उपलब्ध हुने बजेटबाट स्वीकृत ड्रईङ, डिजाईन बमोजिम अस्पताल निर्माणको कार्य प्रारम्भ गरिनेछ ।

 

सामाजिक तथा महिला सुरक्षा सम्बन्धी नीति

  • गाउँपालिका भित्र रहेको एकल तथा विपन्न महिलाहरुकोजिवनयापनमा सहजता ल्याउनका लागि “उपाध्यक्ष जस्तापाता कार्यक्रम” निरन्तरता दिईनेछ । वडा नं. ३ र ६ मा विशेष विपन्न नागरिक जस्तापाता कार्यक्रम सञ्चालन गरिनेछ ।
  • चालु आ.व. २०७७-०७८देखि लागु गरिएको बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई निरन्तरता दिईनेछ ।
  • लामो समयदेखि कुनै न कुनै रुपमा गरीबी, उत्पीडन, उपेक्षा, छुवाछुत र भेदभावको शिकार भई अन्यायमा परेका वर्ग, जाति तथा समुदायको शिर उठाउन समतामा आधारित समानताको नीति लिई मेरिङदेन गाउँपालिकालाई “जातीय भेदभाव तथा छुवाछुत मुक्त गाउँपालिका घोषणा” कार्यक्रम सञ्चालन गरिनेछ ।
  • “हामी सानै छौं बढन देऊ, विवाह होइन पढ्न देऊ” भन्ने अभियानका साथ बालविवाह विरुद्दको कार्यक्रमसञ्चालन गरिनेछ । बालविवाहमुक्त गाउँपालिका निर्माणको लागि सचेतनामुलक कार्यक्रमका अलावा रोकथाम तथा नियन्त्रणका लागि अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरिनेछ ।
  • लैङ्गिक हिंसा विरुद्द शून्य सहनशिलता” भन्ने नाराका साथ महिला हिंसा न्यूनिकरणको विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
  • ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान कार्यक्रम सञ्चालन गरिनेछ ।
  • वडा नं. ५ थुकिमामा वडाध्यक्ष विदुर संरक्षण तथा सम्वर्द्दन कार्यक्रम सञ्चालन गरिनेछ ।
  • वडा नं. ६ नाल्बुमा अपाङ्गता भएका व्यक्ति, दलित समुदाय, बालबालिका, विपन्न महिला, ज्येष्ठ नागरिकहरुलाई घर-घरमा एक वटा फिल्टर वितरण गरिनेछ ।

संस्थागत तथा क्षमता विकास

  • जननिर्वाचित पदाधिकारी र कर्मचारीतन्त्रबीचको सुमधुर सम्बन्धलाई आपसी हातेमालो मार्फत् अझ प्रगाढ बनाउँदै सामूहिक प्रयत्नबाट विकासका अपेक्षित प्रतिफल हासिल गर्नका लागि ‘प्रशासन र राजनीति : एक सिक्काका दुई पाटा’ को नीति लिइनेछ ।
  • म्याद गुज्रेका औषधि, खाद्यपदार्थ एवं पेय पदार्थबाट मानव स्वास्थ्यमा हुने हानिलाई रोक्न नियमित रुपमा बजार अनुगमनको व्यवस्था मिलाइनेछ ।
  • “मेलमिलाप सहजकर्ता, न्यायिक निरुपणमा सहजता”हरुको क्रियाशिलता बढाउँदान्यायिक समितिको काम कारवाहीमा सहजिकरण हुने देखिएकोले सुचिकृत मेलमिलाप कर्ताको नविकरण गर्ने तथा प्रत्येक मेलमिलाप सहजिकरण खर्च वापत एकामुष्ठ रु.१०००।– (अक्षरेपी एक हजार रुपैंया मात्र) उपलब्ध गरिनेछ ।
  • गाउँपालिका क्षेत्रभित्रका माङहिम, मन्दिर, गुम्बा, चर्च जस्ता धार्मिक स्थलहरुको संरक्षण तथा सम्वर्द्धन गर्न विशेष पहल गरिनेछ र हाल कायम विविध धर्म तथा जातजातिबीचको उच्चकोटीको एकता एवं सामाजिक सदभावलाई निरन्तरता दिने एवं प्रवर्द्धन गर्ने नीति लिई व्यावहारिक रुपमा कार्यान्वयन गरिनेछ ।
  • “कर तिर्ने बानी, गाउँपालिकाको विकासमा लगानी” भन्ने नारालाई स्थापित गर्न गाउँपालिकाको आन्तरिक स्रोतलाई व्यवस्थापन गरिनेछ । जसका लागि करको दायरालाई फराकिलो बनाउँदै कर प्रणालीलाई चुस्त, दुरुस्त, व्यवस्थित र बैज्ञानिक बनाउन आवस्यक व्यवस्था मिलाईनेछ । राजश्व संकलनलाई समेत वडागत बजेट विनियोजनको आधार बनाइनेछ ।
  • सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा कर्मचारीहरुको मनोबल उच्च बनाउन गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य चौकीहरु मध्येबाट एक आर्थिक वर्षमा उत्कृष्ट शिक्षक-३ जना उत्कृष्ट कर्मचारी-५ जनाछनोट गरी पुरस्कृत गर्ने नीति अवलम्बन गरिनेछ ।
  • वडा नं. १, ३, ४, ५ र ६ को कार्यालयहरु सम्म “अप्टिकल ईन्टरनेट सेवा” सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
  • गाउँपालिकाको स्थापना पश्चात सम्पादन गरिएका विकास निर्माण लगायतका काम, कारवाही, सेवा प्रवाह, जनप्रतिनिधिहरुको अनुभव समेटिएको “मेरिङदेनका जनप्रतिनिधिका बितेका ५ वर्ष” नामक स्मारिका प्रकाशन गरिनेछ ।
  • एम.आई.एस. अपरेटर तथा फिल्ड सहायकहरुको “एक चौमासिक बराबरको पारिश्रमिक” संघिय सरकारसँग श्रोत साझेदारी गरिनेछ ।

सुशासन सम्बन्धी नीति

  • चालु आ.व. २०७७/०७८ को अधिकाँश पूँजिगत कार्यक्रमको खर्च असारमा मात्र देखिएकोले यस्तो असारे विकासको नियन्त्रण गर्ने नीति लिईनेछ ।
  • गाउँ कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका कार्यालयहरुबाट हुने प्रवाह हुने सेवाको गुणस्तर अभिवृद्धि गरी सेवा प्रवाहमा प्रभावकारिता ल्याउनको लागि अत्यावश्यक शासकीय पूर्वाधारहरुको विकास गर्दै लगिनेछ र हस्तलिखित कागजातलाई पूर्णतया हटाएर क्रमशः कम्प्युटरमा आधारित कार्यप्रणाली तथा डाटाबेसको निर्माण गर्दै गाउँपालिकालाई विद्युतीय शासनयुक्त बनाउनको लागि आवश्यक व्यवस्था गरी लागू गरिनेछ ।
  • गाउँपालिकाको समग्र विकास निर्माण तथा सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण लगायतका आन्तरीक नियन्त्रणको सूचकहरुको कार्यान्वयन गरिनेछ ।
  • सामाजिक सुरक्षा भत्ता वितरण बैंकिङ मार्फत कार्यान्वयन गर्न थप पूर्वाधार व्यवस्थापनको नीति लिइनेछ ।
  • सबै वडा कार्यालय, सामुदायिक विद्यालय तथा स्वास्थ्य चौकीहरुमा समेत सूचना अधिकारी तोक्ने र प्रत्येक चौमासिक अनिवार्य वैठक बस्ने व्यवस्था मिलाईनेछ ।
  • नेपाल पत्रकार महासंघ ताप्लेजुङ सँगको समन्वय र सहजिकरणमा “जनतासँग जनप्रतिनिधि” नामक कार्यक्रम सञ्चालन गरिनेछ ।
  • आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ बमोजिम महालेखा परीक्षकको कार्यालयबाट पेश भएका अन्तिम लेखापरीक्षण प्रतिवेदनले औल्याएका नियमित गर्नुपर्ने, असूल उपर गर्नुपर्ने, प्रमाण कागजात पेश गर्नुपर्ने लगायतकालाई बेरुजू फर्छौट गर्न सूचित गर्ने र तोकिएको समयावधिमा बेरुजू फर्छ्यौट नगर्नेको विवरण सार्वजनिक गर्ने व्यवस्था मिलाईनेछ ।
  • गाउँपालिका निर्णयहरु कार्यान्वयन गर्न स्रोत र साधनको अभाव हुन नदिई नगर प्रहरी परिचालन गरिनेछ ।

विपद् व्यवस्थापन सम्बन्धी नीति

  • भू-क्षय, बाढी-पहिरो, आगलागी, भु-कम्प, हुरीबतास, असिना, हिमपात, चट्याङ् जस्ता प्रकोप एवं तिनीहरुबाट हुने क्षति न्यूनीकरण गर्न “विपद पूर्व तयारी योजना” निर्माण गर्ने तथागाउँपालिकामा रु २० लाखको‘प्रकोप व्यवस्थापन कोष’ तत्काल खडा गरिनेछ ।
  • विपदबाट हुने क्षतिहरुलाई न्युनिकरण गर्न स्थानीय स्तरमा विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना, खोज, उद्दार, राहत सामाग्रीको भण्डार, वितरण तथा समन्वय गरी विपद् जोखिम क्षेत्रहरुको पहिचान तथा बस्तीहरुको नक्साङ्कन गरी गरिनेछ ।
  • वडा नं. २ र ३ को सिमानामा पर्ने “सुर्मा-देवलडाँडा-कागोने क्षेत्र” मा आगलागी नियन्त्रणको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत अग्निरेखा निर्माण गरिनेछ ।
  • मेरिङदेन-३ खाम्लुङ स्थित दोभान बजारमा वि.सं. २०७७ साल फागुन १८ गते भिषण आगलागि भई उक्त क्षेत्रको पुनःनिर्माण क्रमशः भईरहेकोमा“नयाँ नमुना दोभान बजार क्षेत्र” को रुपमा स्थापित गराउनको लागि आवश्यक नीति तय गरि कार्यान्वयन गरिनेछ ।

बन तथा वातावरण सम्बन्धी नीति

  • गाउँपालिकाबाट सञ्चालन गरिने भौतिक पूर्वाधारका कार्यक्रमहरु सञ्चालन गर्दा वातावरण मैत्री बनाउन आवस्यक नीति तयार गरी कार्यान्वयन गरिनेछ ।
  • विकास निर्माण कार्यमा IEE, EIA लाई अनिवार्य कार्यान्वयन गरिनेछ ।
  • भिरमौरी तथा अन्य जडिबुटी संकलकहरुलाई नियमन गरि राजस्वको दायरामा ल्याउने नीति लिईनेछ ।
  • प्राकृतिक वातावरणमा हुर्केका माछाहरुको संरक्षण गरी दिगो उपयोग गर्न खोलामा करेन्ट लगाएर माछा मार्ने कार्यलाई दण्डनीय बनाई आवश्यक कारवाही गर्ने व्यवस्था मिलाइनेछ ।
  • स्थानीय सरकारको अधिकार क्षेत्र भित्र रहेर पनि सामुदायिक वनहरुले हाल सम्म वार्षिक कार्ययोजना स्वीकृत गर्ने गरेको नपाईएकोले अनिवार्य वार्षिक कार्ययोजना स्वीकृत गराउने नीति लिईनेछ ।

खानेपानी तथा सरसफाई सम्बन्धी नीति

  • स्वास्थ्य नै मानिसको धन हो भन्ने उक्तिलाई सार्थक बनाउन कार्यालय, विद्यालय, स्वास्थ्य संस्थामा स्वस्फुर्त रुपमा मासिक सरसफाई कार्यक्रम सञ्चालन गरिनेछ ।
  • खानेपानी व्यवस्थापनका लागि खानेपानी निर्माण, मर्मत संभारका कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।

धन्यबाद ।

प्रस्तोता

कल्पना तुम्बाहाम्फे

उपाध्यक्ष

मेरिङदेन गाउँपालिका, सान्थाक्रा, ताप्लेजुङ

बजेट हेर्न यहाँ क्लिक गर्नुहोस

वार्षिक बजेट २०७८-०७९ meriden

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*