२०२१ भित्रै सबै उमेर समूहले खोप लगाइसक्ने सम्भावना कम, संक्रमणको जोखिम
काठमाडौं । अबको चारदेखि ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा रहेको विज्ञले औंल्याएका छन् ।
नेपालमा अहिले पनि करिब ८ प्रतिशत जनसंख्याले मात्र खोप लिएका र बाँकीका बारेमा अन्योल रहेको अवस्थामा खोप नलिएका उमेर समूह जोखिममा पर्ने उनीहरूको तर्क छ ।
विकसित राष्ट्रहरूले तेस्रो लहरको जोखिममा खोप नलिएका १८ वर्षमुनिका बालबालिका पर्ने प्रक्षेपण गरिरहेकै बेला नेपालका स्वास्थ्य विज्ञको भने भिन्न धारणा छ ।
नेपालमा १८ वर्षमुनिका बालबालिका र खोप नलिएका कुनै पनि समूह जोखिममा हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा। शेरबहादुर पुन बताउँछन् ।
उनका अनुसार नेपालमा सन् २०२१ भित्रै सबै उमेर समूहले खोप लगाइसक्ने सम्भावना नदेखिएकाले बालबालिकासमेत जोखिममा छन् । अहिले कोरोना संक्रमण भएकाको शरीरमा पनि तेस्रो लहरसम्ममा एन्टीबडी प्रभाव सकिने हुनाले जोखिम हुन्छ ।
खोप नलिएका युवा र बालबालिका दुवै जोखिममा पर्न सक्ने डा। पुनको अनुमान छ । भाइरस कुन रूपमा म्युटेन्ट भएर आउँछ भन्ने कुराले पनि जोखिम निर्धारण हुने उनको भनाइ छ ।
अहिले खोप लिएकामा पनि खोपले कति महिना काम गर्छ भन्ने कुराको अध्ययन भइनसकेको अवस्थामा कुनै उमेर समूहमात्र जोखिममा भन्ने निक्र्योल गर्न नसकिने पुनले बताए ।