किन स्थगित भयो काठमाडौं महानगरको खोप अभियान ?
काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोनाविरुद्धको खोप अभियान रोकिएको छ । काठमाडौं महानगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौं महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भएपछि चलिरहेको कार्यक्रम रोक्नुपरेको बताइएको छ ।
नेपाल सरकारलाई गएको हप्ता चीनले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । यसरी प्राप्त भएको खोपलाई सरकारले देशैभरि ६० वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई लगाउने कार्यक्रम बनाएको थियो ।
कार्यक्रमअनुसार काठमाडौं महानगरले गएको मङ्गलवारदेखि पाँच दिनसम्म उमेर समूहअनुसार दिन तोकी खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो । महानगरले बिहीवार सम्म झन्डै २८ हजार जनालाई खोप लगाइएको बताएको छ ।
महानगरको एक देखि ३२ वडा कार्यालयमा तय भएको कार्यक्रम स्थगित भएको हो ।