चिनियाँ अनुदानमा प्राप्त भेरो सेल खोप ७९ प्रतिशत प्रभावकारि, अर्को सातादेखि वितरण

वेलकम खबर
जेष्ठ २१, २०७८

काठमाडौं । चिनियाँ अनुदानमा प्राप्त भेरो सेल खोप अर्को सातादेखि लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकोे छ । मन्त्रालयका अनुसार उक्त खोप ६० देखि ६४ वर्षका नागरिकहरूलाई दिइनेछ ।

आगामी मङ्गलवारदेखि भेरो सेल वितरण सुरु गरिने मन्त्रालयले जनाएको छ । अहिले नेपालमा उक्त उमेर समूहमा करिब साढे आठ लाखजति जनसङ्ख्या रहेको अनुमान छ ।

यसअघि सरकारले ६५ वर्ष माथिका नागरिकलाई कोभिशील्ड खोपको पहिलो मात्रा दिइसकेकाले यसपालि उक्त उमेर समूहलाई चयन गरिएको हो ।

यसअघि चिनियाँ अनुदानमै प्राप्त भेरो सेलकै आठ लाख मात्रामध्ये केही खोप अहिले बचत रहेको बताइएको छ । उक्त खोप वाग्मती प्रदेशका सात जिल्लामा १८ देखि ५९ वर्षका नागरिकहरूलाई लगाइएको थियो ।

मन्त्रालयका अनुसार ती जिल्लाका करिब तीन लाख नागरिकले भेरो सेलको खोपको पहिलो मात्रा लगाएका थिए । दोस्रो मात्रा पनि पूरा गर्नेको सङ्ख्या भने केही कम छ ।

मन्त्रालयको विवरण अनुसार नेपालमा हालसम्म कोभिशील्ड र भेरो सेलका गरी दुवै मात्रा खोप पूरा गर्नेको सङ्ख्या सात लाख जनाभन्दा बढी पुगिसकेको छ । त्यस्तै पहिलो मात्रा लगाउनेको सङ्ख्या २१ लाखभन्दा बढी भएको छ ।

भेरो सेल खोप कति प्रभावित
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको कोभिड(१९ विरुद्धको यो खोपलाई गत महिना आपत्कालीन प्रयोगको अनुमति दिएको थियो ।

डब्ल्यूएचओबाट स्वीकृति पाउने यो युरोपबाहिर निर्मित पहिलो कोभिड खोप हो । तर त्यसअघि नै नेपालमा भेरो सेल प्रयोगमा ल्याइसकिएको थियो ।

नेपाल र चीनसहित यो खोप अन्य देशमा अहिलेसम्म लाखौँ व्यक्तिहरूलाई दिइसकिएको छ । डब्ल्यूएचओका अनुसार सबै उमेर समूहको विवरणका आधारमा यो खोपको प्रभावकारिता ७९ प्रतिशत देखिएको छ ।

डब्ल्यूएचओले १८ वर्षमाथिका मानिसलाई यो खोप लगाउन सकिने भनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*