उपत्यकामा निषेधाज्ञाका कारण संक्रमण घट्यो, आजबाट केही खुकुलो
काठमाडौं । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको एक महिनाभन्दा बढी भइसकेको छ । सङ्क्रमणको साङ्लो तोड्न लगाइएको निषेधाज्ञाको प्रभाव सकारात्मक परेको देखिएको छ ।
निषेधाज्ञा लागू भएको अघिल्लो दिन अर्थात् वैशाख १५ गते काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा दुई हजार ४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । जनस्वास्थ्य विज्ञहरूले एक महिनाको निषेधाज्ञापछि उपत्यकामा कोरोना सङ्क्रमण घट्न थालेको सङ्केत मिलेको बताए । तर उनीहरूले स्वास्थ्य मापदण्ड पालनामा लापरवाही नगर्न सचेत पनि गराए ।
उपत्यकामा दैनिक थपिने सङ्क्रमितको सङ्ख्या सबभन्दा बढी वैशाख २६ गते झन्डै चार हजार दुई सय पुगेको थियो । यो सङ्ख्या घटेर जेठ १६ गते करिब एक हजार एक सयमा आइपुगेको छ । जेठ १९ गते बुधबार काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँमा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी एक हजार ४५६ जना सङ्क्रमित थपिएका छन् ।
अहिले दैनिक थपिने नयाँ सङ्क्रमितको सङ्ख्या निषेधाज्ञा लागू हुनुभन्दा एक साता अघिको अवस्थामा आएको छ । यसैगरी वैशाख अन्तिमतिर काठमाडौँ उपत्यकामा झन्डै साढे ४२ हजार सक्रिय सङ्क्रमित थिए । बुधबार सक्रिय सङ्क्रमितको सङ्ख्या उपत्यकामा २४ हजार ६४६ मा झरेको छ ।
सरुवा रोग विशेषज्ञ डा। अनुप बास्तोलाले उपत्यकासहित देशभर कोरोना सङ्क्रमितको सङ्ख्या घटेको बताए । उनले निषेधाज्ञा जारी भएको एक महिनापछि सङ्क्रमितको सङ्ख्या घट्न थालेको भए पनि कोरोनाको जोखिम कम भयो भन्न नमिल्ने बताए ।
साथै काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका छन् । अब जेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने भएको छ । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।
सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ ।