काठमाण्डौको निषेधाज्ञा जेठभरि रहने, तरकारी र खाद्यान्न पसलमा कडाई
काठमाण्डौ । उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञालाई जेठ महिनाभरि बढाउने योजनाका साथ प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ ।
उनकाअनुसार काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा जेठ महिनाभरि लम्ब्याउने बिषयमा तीनै जिल्लाका प्रजिअहरुबीच अनौपचारिक सहमति भइसकेको छ । गृहमन्त्रालयबाट समेत कोरोनाको बढ्दो संक्रमणको चेन ब्रेक नभइसकेकोले निषेधाज्ञालाई थप कडाईका साथ लम्ब्याउनुपर्ने निर्देशन आएकोले समेत थप कडा निषेधाज्ञा लागू हुने उनले जानकारी दिए ।
सरकारले अध्यादेश नै जारी गरी निषेधाज्ञा उल्लंघन गर्नेलाई एक वर्षसम्म कैद हुनसक्ने व्यवस्थासँगै स्थानीय प्रशासनहरुले समेत कडाई गर्न थालेका छन् । सरकारले अध्यादेशमार्फत गरेको व्यवस्थाका कारण समेत निषेधाज्ञामा थप कडाई गर्नुपर्ने अवस्था सिर्जना भएको भट्टराई बताउँछन् ।
उपत्यकाका तीन जिल्लाका सीडीओ कार्यालयहरुले संक्रमणको विषयमा समेत विश्लेषण गरिरहेका छन् । उनीहरुले संक्रमणदर स्थिर रहेको, तर करिब एक महिनासम्म निषेधाज्ञा हुँदा समेत चेन ब्रेक हुन नसकेको र संक्रमणको दर उल्लेख्य घट्न पनि नसकेको निश्कर्ष निकालेका छन् । ‘यसकारण समेत निषेधाज्ञामा थप कडाई गर्नुपर्ने अपरिहार्यता देखियो ।’ भट्टराईले भने ।
यसैबीच, तीन जिल्लाका सीडीओहरुको आज बस्ने बैठकले बिहान १० बजेसम्म खुल्ने तरकारी तथा खाद्यान्नको पसलमा धेरै भीडभाड हुने गरेको र त्यहाँबाट समेत संक्रमण फैलिरहेको निश्कर्ष निकाल्दै यसमा समेत थप कडाई गर्ने विषयमा नयाँ निर्णय लिनसक्ने भट्टराईले जानकारी दिए ।
‘अब हुने निषेधाज्ञामा भीडभाड हुने हरेक क्षेत्रमा कडा गरिनेछ ।’ भट्टराईले भने–‘अब थपिने निषेधाज्ञा निकै कडा बनाइएको खण्डमा संक्रमणको चेन ब्रेक हुने हाम्रो विश्लेषण छ ।’