दुई दिन लगातार घटेको भारतमा फेरी बढ्यो संक्रमित, मृत्यु हुनेको संख्या दुई लाख २६ हजार नाघ्यो
काठमाडौं । कोरोेना भाइरस संक्रमितको संख्या दुई दिन लगातार घटेको भारतमा फेरि बढेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या भने लगातार बढिरहेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन लाख ८२ हजार ६९१ संक्रमित थपिएका छन् । योसँगै भारतमा संक्रमित हुनेको संख्या दुई करोड ६ लाख ५८ हजार २३४ पुगेको छ ।
दुई दिन अघि चार लाख नाघेको नयाँ संक्रमितको संख्या मंगलबार तीन लाख ५५ हजार ८२८ मा झरेको थियो । त्यस्तै, सोमबार तीन लाख ७० हजार ५९ संक्रमित थपिएका थिए ।
भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ९३ हजार ६३५ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा तीन हजार ७८७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या दुई लाख २६ हजार १६९ पुगेको छ ।
अहिले दैनिक थपिने संक्रमितको संख्या र मृत्यु हुनेको संख्या भारतमा सबैभनदा बढी रहेको छ । भारतमा पछि ब्राजिलमा ६९ हजार ३७८ संक्रमित थपिएका छन् । अन्य देशमा त्योभन्दा पनि कम छन् ।
त्यस्तै, मृत्यु हुनेको संख्या पनि अन्य देशको तुलनामा अत्यधिक छ । भारतपछि ब्राजिलमा तीन हजार २५ जनाले ज्यान गुमाएका छन् ।