नेपालले तोड्यो पुरानो रेकर्ड, एकैदिन ५७६३ जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप ५७६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत वर्षको अक्टोबर २१ मा नेपालमा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा त्यसयता शनिबार हालसम्मकै धेरै जना ५७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार पनि ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
एन्टिजेन विधिबाट ५६६ जनाको परीक्षण गर्दा ५७ जना र पीसीआर विधिबाट १४ हजार ४०३ जनामा परीक्षण गर्दा ५ हजार ७०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै बितेको २४ घण्टामा १९ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८२ हजार ३८२ पुगेको छ ।
यस्तै मृतकको कुल संख्या ३ हजार २९८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।