वैदेशिक रोजगारमा जाने कामदारको पीसीआर परीक्षणमा आर्थिक चलखेलको आरोप
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाथि आर्थिक चलखेलको आधारमा सीमित स्वास्थ्य संस्थालाई मात्रै वैदेशिक रोजगारमा जाने कामदारको कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने अनुमति दिएको आरोप लागेको छ ।
केही दिनअघि सिनामंगलस्थित एक निजी क्लिनिकले स्वाब नै नलिई कोरोना भाइरस नेगेटिभ रहेको रिपोर्ट दिएको सार्वजनिक भएको थियोे ।
त्यसलगत्तै मन्त्रालयले प्रयोगशाला भएका सरकारी अस्पताल र निजी क्षेत्रका पाँचवटा अस्पताललाई मात्र अनुमति दिएपछि निजी क्षेत्रका अन्य स्वास्थ्य संस्थाले आपत्ति जनाएका हुन् । ।
सरकारले सबै सरकारी प्रयोगशालाहरुका साथै युनिभर्सल कलेज अफ मेडिकल साइसेन्स एन्ड टिचिङ हस्पिटल, ह्याम्स हस्पिटल, स्टार हस्पिटल, नेपाल मेडिसिटी अस्पताल र मनमोहन मेमोरियल कलेज एन्ड टिचिङ हस्पिटललाई मात्रै वैदेशिक रोजगारीमा जानेहरूको पीसीआर परीक्षक्ष्ण गर्ने अनुमति दिएको छ ।
मन्त्रालयको यो निर्णयपछि वैदेशिक रोजगारमा जाने कामदारको स्वाब परीक्षण गर्न सूचीकरण भएका स्वास्थ्य संस्थाले आपत्ति जनाएका हुन् ।
वैदेशिक रोजगारमा जाने कामदारको कोरोना परीक्षण हाल एक हजार पाँच सय रूपैयाँमा हुने गरेको छ । सीमित स्वास्थ्य संस्थाले गर्दा मूल्य बढाएका छन् । उनीहरूले २ हजारदेखि पच्चीस सयसम्म लिन थालेको बताइएको छ । फ्रि भिसा फ्रि टिकटमा विदेश जाने कामदारलाई महँगो शुल्क असुल्न नहुने अधिकारकर्मीहरूको भनाइ छ ।