मास्क फ्याँक्नेलाई कारबाही, लामो दूरीका गाडीले बीचमा यात्रु चढाउन नपाउने
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि काठमाडौं उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको हो ।
यो सँगै अब विसर्जन गर्नुपर्ने मास्क बन्द डस्टबिन वा प्लाष्टिकको झोलामा बन्द गरी पाँच दिनसम्म सुरक्षित राख्नुपर्ने छ । त्यसपछि मात्रै विसर्जन गर्नुपर्ने छ । अटेर गरेमा कारबाही हुनेछ । घर तथा सार्वजनिक ठाउँमा जथाभावी नथुक्न र प्रयोग गरेको मास्क जथाभावी नफ्याँक्न भनिएको छ ।
सरकारले दिएको आदेश नमान्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । सरकारी आदेशअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा सङ्क्रमण रोक्न मानवीय गतिवधि नियन्त्रण गर्न थालेको हो ।
नयाँ भेरियन्टसहित कोरोना महामारीको सङ्क्रमण बढ्दै गएपछि यसको रोकथाम र नियन्त्रणका लागि निगरानी थालिएको उनले बताए । यस्तै, जिल्ला प्रशासन कार्यालय काठमाडौंले गाडी चलाउँदा चालक र सहचालकलाई मास्क र भाइजर अनिवार्यरूपमा लगाउन निर्देशन दिएको छ ।