१४ लाख ७८ हजार बढिले लगाए कोरोना खोप
काठमाडौँ। नेपालको कुल जनसंख्या मध्ये करिब ५ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । शनिबारसम्म उक्त प्रतिशतले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा गत माघ १४ गतेदेखि कोरोना खोपको अभियान सुरु गरिएको हो । जसमा पहिलो चरण मार्फत उपचारमा संलग्न अग्रपंक्तिका स्वास्थ्यकर्मी, कर्मचारीलगायतको सहभागी रहेको थियो ।
फागुन २३ देखि सुरु भएको दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिक र पहिले छुटेका स्वास्थ्यकर्मीले खोप लगाइरहेका छन् । पहिलो र दोस्रो चरणमा प्राथमिकताको निर्धारित लक्ष्यको ५३ प्रतिशत खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।
दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकमा खोप प्रति आकर्षणसमेत बढ्दै गएको पाइएको छ । दोस्रो चरणअन्तर्गत शनिबारसम्म १० लाख ३९ हजार ६ सय ५९ जनाले खोप लगाएका छन् ।
दुवै चरण गरी जम्मा १४ लाख ७८ हजार ५ सय ३८ जनाले खोप लगाइसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ । यो कुल जनसंख्याको ४।९ प्रतिशत हो । मुलुकमा ६५ वर्षमाथिका मानिसको संख्या करिब १७ लाख ९२ हजार छ ।
हालसम्म भारतबाट अनुदानमा प्राप्त १० लाख र खरिदबाट आएको १० लाख मात्रा तथा कोभाक्स सुविधाअन्तर्गत आएको ३ लाख ४८ हजार मात्रा गरी २३ लाख ४८ हजार मात्रा कोभिसिल्ड खोप भित्रिइसकेको छ ।
सिरम इन्स्टिच्युट अफ इन्डियाबाट खरिद गरिएकोमध्ये बाँकी १० लाख मात्रा खोप सोमबार आइपुग्ने मन्त्रालयले जनाएको छ ।