नेपाल आउन थाले विदेशी पर्यटक
काठमाडौं। सरकारले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध खुकुलो बनाएसँगै नेपालमा विदेशबाट पर्यटक आउन थालेका छन्। अध्यागमन विभागका अनुसार गत साउन सम्म नगन्य रहेको विदेशी नागरिकको आवागमन भदौपछि भने बढ्न थालेको छ।
असोजमा पनि यस्तो सङ्ख्यामा वृद्धि भएको पाइएको छ। सरकारले अक्टोबर १७ पछि पर्यटन विभाग र ट्राभल व्यवसायीको सिफारिसमा अनअराइभल भिसाको अनुमति दिएसँगै विदेशी पर्यटक आवागमनले गति लिएको पर्यटन व्यवसायीहरूको भनाई छ।
सरकारले पर्वतारोहण र पदयात्राका लागि १७ अक्टोबरबाट नेपाल खुला भएको घोषणा गरेको हो। पर्यटकले ५ लाख डलरको कोरोना बीमा गरी नेपालमा पदयात्रा वा पर्वतारोहण गर्ने दिनको तालिका, पर्वतारोहण तथा पदयात्रा गर्न पाउने अनुमतिसहित प्रस्तावमा मागेमा अनअराइभल भिसा उपलब्ध गराउन थालेको हो।
त्यसअगाडि भने विदेशी कूटनीतिक नियोगका कर्मचारी, विकास साझेदार संघ संस्थाका प्रतिनिधि तथा कर्मचारी र उनीहरूको परिवारलाई मात्र अनुमति थियो। त्यसपछि सरकारले नेपालका विकास निर्माणका काममा काम गर्ने विदेशी कामदारलाई समेत नेपाल आउने ढोका खोलेको थियो।
नेपाल आइसकेपछि भने सबै विदेशी नागरिक ७ दिन होटेल क्वारेन्टाइनमा बस्नु पर्छ।