तीन हजार बढि सरसफाइकर्मी कोरोना सङ्क्रमणको उच्च जोखिममा

वेलकम खबर
कार्तिक १६, २०७७

काठमाडौँ। राजधानीका विकुप्रसाद पुजारी फोहोर सङ्कलन गर्न दिनहुँजसो बागबजार, मैतीदेवी, डिल्लीबजार, बानेश्वर र सिनामङ्गल क्षेत्रका टोल टोल पुग्छन्। ‘फोहोरमा खुला मास्क, पञ्जा देखेपछि भाइरस पो छ कि भनेर हरेकपल्ट मन चसक्क हुन्छ तर काम हो, उठाउनै प¥यो, उठाइन्छ।’ उनले भने। बन्दाबन्दीपछि उनी पीपीई, बुट र पञ्जा अनिवार्य लगाएर फोहोर उठाउँछन्।

यतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारी व्यापक रूपमा देशभर फैलिएको छ। उनीजस्तै झन्डै तीन हजार तीन सय सरसफाइकर्मी यसैगरी जोखिम मोलेर काठमाडौँ उपत्यकामा सङ्क्रमित र आम मानिसले उब्जाएका फोहोर बटुलिरहेका छन्। भाइरसबाट बच्न सबै निकायमा कतिपयले आलोपालो र कतिपयले घरबाटै काम गर्ने चलन चलाएको छ। तर अत्यावश्यक सेवाभित्र पर्ने सरसफाइ र फोहोर उठाउनेको काम निरन्तर जारी छ। तीन महिनाको बन्दाबन्दी होस् वा अहिलेको उच्च महामारीमा समेत उच्च जोखिम मोलेर सरसफाइ कर्मचारी ‘फ्रन्ट लाइन’मा सक्रिय छन्।

आफू बच्दै समाज र नगरवासीलाई फोहोरको सङ्क्रमणबाट हुने विभिन्न रोगको जोखिमबाट सरसफाइकर्मीले बचाइरहेका छन्। सरसफाइकर्मी नहुँदा हुन् त महामारीको यो बखतमा सहर फोहोर र अन्य महामारीको घर बनिसकेको हुने थियो। त्यसै पनि कोरोना भाइरसको महामारी फैलिरहेको बेला नगर, टोल सफा राख्नुपर्ने हुन्छ। नत्र कोरोनासँगै अनेक रोगको अर्को महामारीले मानिसको थप ज्यान लिन सक्ने उनी औँल्याउँछन्। यस्तोमा आफू बचेर अरूलाई बचाउँदै काम गर्नुपर्ने दोहोरो जिम्मेवारी सरसफाइ कर्मचारीमा आइपरेको पुजारी बताउँछन्।

उनी बीएन्डपी कम्पनीका तर्फबाट फोहोर सङ्कलन गर्छन्। काठमाडौँ, ललितपुर महानगरपालिका र भक्तपुरका विभिन्न नगरपालिकासँगको समन्वयमा सार्वजनिक–निजी साझेदारीको अवधारणा अनुसार फोहोर सङ्कलन गरिँदै आएको उनी बताउँछन्। गोरखापत्र दैनिक

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*