२४ घण्टामा थप १९५४ मा कोरोना पुष्टि, २९८१ डिस्चार्ज
काठमाडौं। बितेको २४ घण्टामा देशभर थप १ हजार ९५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले ८ हजार २४८ जनाको पीसीआर भएकोमा १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ गरी सो संख्यामा संक्रमित पुष्टि भएको हो। उनका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या ३९ हजार ६४३ रहेको छ। जसमा संस्थागत आइसोलेसनमा ७ हजार ७०९ र होम आइसोलेसनमा ३१ हजार ९३४ रहेका छन्।
यस्तै बितेको २४ घण्टामा थप २ हजार ९८१ जनाले कोरोना जितेका छन्। भने यससँगै देशभर कोरोना जित्नेको कुल संख्या १ लाख २१ हजार ८२४ पुगेको छ। यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।