बीपी प्रतिष्ठानले कोरोना उपचारको शुल्क तोक्नु गलत : मुख्यमन्त्री

वेलकम खबर
कार्तिक ७, २०७७

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितको उपचार शुल्क लिने निर्णय गर्नु गलत भएको बताएका छन्। प्रतिष्ठानले प्रदेश सरकारसँग समन्वय नगरी आफूखुसी शुल्क निर्धारण गरेको उनको भनाइ छ।

प्रतिष्ठानले कोरोना सङ्क्रमितको पीसीआर जाँच र उपचार गर्दा दैनिक १५ हजार शुल्क र ६० हजारसम्म धरौटी राख्नुपर्ने भनी सूचना जारी गरेकोमा मुख्यमन्त्री राईले उक्त निर्णय जनआकांक्षा विपरीत भएको बताए। महामारीमा राज्यले निःशुल्क रूपमा नागरिकको स्वास्थ्य उपचार गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेकोसमेत उनले स्पष्ट पारेका छन्।

उनले भने, ‘सर्वसाधारण नागरिकको उपचार गर्न भनेर नै कोभिड अस्पतालका लागि यसअघि १२ करोड ५० लाख दिएको हो। यसै गरी प्रदेश सरकारले अक्सिजन प्लान्टसहित २ सय बेड विस्तार गर्ने भनेर प्रतिष्ठानमा तयारी भइरहेको छ।’ प्रदेश १ का जनतालाई कोरोनाको निस्शुल्क उपचार सेवा दिन आन्तरिक छलफलमा व्यस्त रहेको उनले बताए।

प्रतिष्ठानले कात्तिक ५ गते साँझ सार्वजनिक सूचना जारी गर्दै कोरोना सङ्क्रमणको उपचार गर्नुपरे भर्ना अगाडि ६० हजार रुपैयाँ धरौटी राख्नुपर्ने, त्यसपछि दैनिक १५ हजार रुपैयाँसम्म उपचार खर्च तिर्नुपर्ने जनाएको छ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको निर्देशनअनुसार शुल्क तोकिएको बताएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*