ताप्लेजुङमा थप ७ जनामा कोरोना पुष्टि, एक संक्रमित डिस्चार्ज
ताप्लेजुङ। ताप्लेजुङमा बुधवार एकैदिन ७ जना कोरोना संक्रमित थपिएका छन्। साथै ताप्लेजुङमा सक्रिय सङ्क्रमितको संख्या ८ पुगेको छ। १ जना कोरोना संक्रमित भने निको भएका छन्।
कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको आग्रहमा ताप्लेजुङ अस्पतालले गत कात्तिक १ गते ५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाएको थियो। ५० जनाको स्बाव परीक्षणका लागि पठाउँदा ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो। यसअघि संक्रमित भएका २० एक युवाको भने परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाइँलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रशासन कार्यालय सिल गरी प्रशासन कार्यालयमा कार्यरत कर्मचारी, क्वारेन्टाइनमा रहेका, उच्च ज्वरो सहितको समस्याका कारण अस्पतालको फिबर क्लिनिकमा भर्ना भएका सहित ५० जनाको पीसीआर परीक्षणका लागि पठाइएको थियो।
जिल्ला प्रशासन कार्यालयमा कार्यरत १ कर्मचारीमा मात्र कोरोना पोजेटिभ देखिएको छ। संक्रमित हुनेमा ३ जना नेपाल प्रहरी र ३ जना सशस्त्र प्रहरीमा कार्यरत रहेपनि ति निकायले भने अहिले सम्म पुष्टि गरेका छैनन्।