वाग्मती र गण्डकी प्रदेशले कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्ने

वेलकम खबर
कार्तिक ५, २०७७

काठमाडौं। वाग्मती र गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचारलाई निरन्तरता दिने जनाएका छन्। गण्डकी प्रदेशको ३८ ठाउँका कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको गण्डकी प्रदेश सरकारले जनाएको हो। नागरिकप्रतिको दायित्व पूरा गर्नबाट गण्डकी सरकार पछि नहटेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्।

अहिलेसम्म कोरोनाको पीसीआर परीक्षण र उपचार खर्च गण्डकी सरकारले नै बेहोर्दै आएको र यो सेवा निरन्तर रहने उहाँको भनाई छ। यस्तै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड-१९ को निःशुल्क उपचार भइरहेको जनाएको छ।

प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।

यसअघि हिजो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पनि आफ्नो प्रदेशका कोरोना विशेष अस्पतालमा कोरोनाका बिरामीको निस्शुल्क उपचारको व्यवस्था यथावत् रहेको बताएका थिए। संघीय सरकारले कोरोना सङ्क्रमितको उपचार खर्च आफैले गर्नुपर्ने निर्णय गरेपछि चौतर्फी विरोध भैरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*