सुनसरीमा थप ४ कोरोना सङ्क्रमितको मृत्यु
धरान। कोरोना भाइरसको सङ्क्रमणबाट सुनसरीमा चार जनाको मृत्यु भएको छ। दुई जनाको अस्पतालमा र दुई जनाको घरमै मृत्यु भएको हो। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार आज बिहान धरान ८ एघार घरेका एक युवकको मृत्यु भएको छ। उनको उपचारका क्रममा बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
धरान-८ का वडा सदस्य राम मगरका अनुसार उनी मिर्गौला रोगबाट पीडित थिए। उनी डायलासिसका लागि प्रतिष्ठान आवतजावत गर्दै आएका थिए। त्यहिक्रममा कोरोना संक्रमण भएको हो। त्यस्तै, प्रतिष्ठानमै इटहरी-२० का ७८ वर्षीय बृद्धको आज बिहान ३ बजे मृत्यु भएको छ। उनको उपचारका क्रममै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। उनी कोरोना संक्रमण भएपछि असोज १९ गते प्रतिष्ठानमा भर्ना भएका थिए।
यसैगरी, आइतबार साँझ ७ः१५ बजे धरान-१९ की ७० वर्षीया बृद्धाको होम आइसोलेसनमा मृत्यु भएको छ। उनलाई एक साता अघि कोरोना संक्रमण देखिएको थियो। त्यसयता उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन्। होम आइसोलेसनमै रहेका वेला आइतबार साँझ मृत्यु भएको हो।
यसअघि आइतबार अपराह्न धरान-८ का ६८ वर्षीय बृद्धको कोरोनाबाट मृत्यु भएको थियो। प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उनले घर जान खोजेका थिए। परिवारजनले पनि उनलाई घर लगेका थिए।
घर पुगेको केहीबेरमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।