७ महिनापछि पर्वतारोहण तथा पदयात्रामा आउने विदेशी पर्यटक आगमन खुला
काठमाडौं। कोरोना जोखिमका कारण ७ महीनादेखि बन्द रहेको पर्यटन आगमन कात्तिक १ गतेबाट खुला गरिएको छ। पर्वतारोहण तथा पदयात्रामा आउने विदेशी पर्यटक आगमन शनिबारदेखि खुला भएको हो।
सरकारले नेपाल आउने विदेशी पर्यटकलाई पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गर्दै कात्तिक १ गतेदेखि पर्यटक आगमन खुला गर्ने निर्णय यसअघि नै गरिसकेको थियो। तर, सबैखाले पर्यटक नेपाल आउन भने अरू १ महीना कुर्नुपर्ने छ।
पर्वतारोहण तथा पदयात्रामा विदेशी पर्यटक आगमन खुला गरिए पनि पर्यटक नेपाल आएपछि ७ दिन होटेल क्वारेन्टाइन बसेर पुनः परीक्षण गरेपछि मात्रै घुम्न जान पाउने व्यवस्था अव्यावहारिक भएको र यसले पर्यटक आगमन हुने सम्भावना कम रहेको पर्यटन व्यवसायीहरूको धारणा छ।
पर्यटन व्यवसायीले बढीमा ३ दिन मात्रै होटेलमा राखेर परीक्षण गरी घुम्न पठाउनुपर्ने माग गर्दै आएका छन्। सरकारले चैत ५ देखि बन्द गराएको अनअराइभल भिसा पनि यसअघि नै खुला गरिसकेको छ। इराक, नाइजेरिया, घाना, जिम्बाबे, स्वीटजरल्यान्ड, सोमालिया, क्यामरून, लाइबेरिया, इथियोपिया, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाबाहेक देशका नागरिकले नेपालमा अनअराइभल भिसा पाउने गरेका छन्।
सरकारले पर्यटक आगमन खुला गरे पनि तत्काल सोचेअनुरूप विदेशी पर्यटक आइहाल्ने स्थिति बनिनसकेको होटेल संघ नेपालले जनाएको छ। होटेलहरू विदेशी वा स्वदेशी दुवै खालका पर्यटकको स्वागतार्थ तयारी अवस्थामै रहे पनि स्वास्थ्य सुरक्षा महत्त्वपूर्ण विषय भएकाले पर्यटक आगमन हुने सम्भावना कम रहेको संघको तर्क छ।
विश्वभर विदेशी पर्यटकलाई स्वास्थ्य मापदण्ड लागू गरेर खुला गरिरहेको सन्दर्भमा नेपालमा पनि खुलाएर सकारात्मक सन्देश मात्रै दिन खोजिए पनि सातदिने लामो क्वारेन्टाइनले पर्यटक आगमन नहुने नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टसले जनाएको छ। यसअघि ७२ घण्टाको पीसीआर रिपोर्ट लिनेले घुम्न पाउने गरी सीसीएमसीले निर्णय गरे तापनि मन्त्रिपरिषद्ले त्यसलाई स्वीकृति दिएको छैन।
यसले गर्दा पर्यटक आएर ७ दिन क्वारेन्टाइनमै बस्नुपर्ने बाध्यता छ। यसैबीच, नेपाल पर्यटन बोर्डले विदेशी पर्यटकले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउँदा पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड–२०७७ बमोजिम सबै पर्यटकका लागि भिसा सिफारिस गर्न सरोकारवाला संस्थालाई अनुरोध गरेको छ।
नेपाल आउने पर्यटकले ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बीमा गरिएको कागजातसमेत अनिवार्य गरिएको छ भने पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बीमाको कागजात अनिवार्य ल्याउनुपर्ने छ। उनीहरूले कम्तीमा ७ दिन होटेल क्वारेन्टाइन रहने गरी होटेल बुकिङको कागजात पनि अनिवार्य गरिएको पर्यटन बोर्डले जानकारी दिएको छ।
सरकारले पर्वतारोहण तथा पदयात्रामा विदेशी पर्यटक आगमन खुला गरेकै दिन खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिकाभित्र निकट भविष्यमा हुने हवाई तथा हेली उडानमार्फत जाने सबै यात्रुलाई अनिवार्य पीसीआर टेस्ट सुनिश्चित गरेर मात्र उडान गराउन अनुरोध गरेको छ।