ताप्लेजुङका प्रजिअ चापागाईँलाई कोरोना पुष्टि, कार्यालय सात दिनका लागि सिल
ताप्लेजुङ। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रजिअलाई कोरोना पोजेटिभ भएपछि जिल्ला प्रशासन कार्यालय सात दिनलाई सिल गरिएको छ।
प्रशासन सात दिनलाई बन्द गरिने तथा प्रजिअका सम्पर्कमा आएका सबैको पिसिआर परीक्षणसमेत गरिने प्रशासनले जनाएको छ। ओलाङ्चुङगोलामा स्थापना हुने बिओपी उद्घाटनका क्रममा पर्यटनमन्त्री योगेशकुमार भट्टराईसँगै एउटै हेलिकोप्टरमा सवार चापागाइँलाई संक्रमण पुष्टि भएको हो।
बिओपी उद्घाटनको कार्यक्रम सकेर फर्किएको भोलिपल्ट देखिएको हल्का ज्वरोका आधारमा प्रजिअ चापागाईँको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर पठाईएको थियो।
स्वाब संकलनपछि प्रजिअ चापागाईँ प्रशासन कार्यालयकै आवास कक्षको क्वारेन्टाइनमा बसेका थिए। साथै स्वाब परीक्षणको टिपोर्ट पोजेटिभ आएपछि उनी थप सतर्कताका साथ आइसोलेसनमा रहने बताइएको छ।