विराटनगर र धरानमा एकैदिन ८ कोरोना सङ्क्रमितको मृत्यु
विराटनगर। कोरोना सङ्क्रमणका कारण प्रदेश १ मा एकै दिन आठ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच जना र विराटनगरमा तीन जनाको मृत्यु भएको हो।
विराटनगरको विराट नर्सिङ होममा एक महिला र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई पुरुषको मृत्यु भएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको हो। मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार उनलाई विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा भर्ना गरिएको थियो।
यस्तै विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमित पुरुषको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–४ का ५० वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो। विराटनगरका पुरुषलाई पीसीआर परीक्षण गराउँदा असोज २१ गते रिपोर्ट पोजेटिभ आएको उपचार केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बिहीबार बिहान ३ः३० बजेतिर मृत्यु भएको हो। मृतकमा मधुमेहको समस्या थियो।
सोमबार कोरोना पुष्टि भए पनि होम आइसोलेसनमा रहेका धरानका वृद्ध पुरुषलाई श्वासप्रश्वासको समस्या बढेपछि उपचारका लागि बुधबार कोभिड अस्पताल भर्ना गरिएको थियो। उनको बुधबार राति ९ बजेतिर मृत्यु भएको छ । मृतकमा मधुमेह, उच्च रक्तचापलगायत समस्या थियो।
धरानमा पाँचजनाको मृत्यु
पछिल्लो २४ घण्टामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाँच जनाको मृत्यु भएको छ। प्रतिष्ठानका अनुसार धरान उपमहानगरपालिकाका एक महिला एक पुरुष, इटहरी उपमहानगरपालिकाका एक महिला र तेह्रथुमका दुई पुरुषको मृत्यु भएको हो।
तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान ७ बजेर १५ मिनेटमा मृत्यु भएको हो। मृगौलामा समस्या, मधुमेह र उच्च रक्तचापका बिरामीमा रहेका पुरुषमा १० असोजमा संक्रमण पुष्टि भएको थियो। बिरामीलाई ११ असोजमा प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको थियो।
इटहरी उपमहानगरपालिका २० की ७५ वर्षीया वृद्धाको बिहीबार बिहान १२ः५ बजे मृत्यु भएको हो। प्रतिष्ठानका अनुसार उच्च रक्तचाप भएकी वृद्धामा २८ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो। बीपी प्रतिष्ठानमै धरान उपमहानगरपालिका–९ का दुई जना सङ्क्रमितको मृत्यु भएको छ। प्रतिष्ठानको प्रयोगशालामा २५ असोजमा संक्रमण पुष्टि भएका ५८ वर्षीय पुरुषको बुधबार राति ११ः५५ मा मृत्यु भएको छ। उनी २८ असोजमा अस्पताल भर्ना भएका थिए।
धरान ९ कै ४४ वर्षीया महिलाको समेत बुधबार अपरान्ह साढे ३ बजे मृत्यु भएको छ। धरान ९ का महिला र पुरुषमा दीर्घरोगको समस्या थिएन। महिलालाई २७ असोजमा कोरोना पोजेटिभ देखिएको थियो। यसैगरी तेह्रथुम दाङ्पा– १ का ४९ वर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको छ। २६ गते कोरोना पोजेटिभ देखिएका पुरुषमा निमोनियाको समस्या थियो। २५ असोजमा इमरजेन्सीमा भर्ना भएका उनको बुधबार बेलुका सात बजे इमरजेन्सीमै बताइएको छ।
एकै दिन आठजनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या १२१ पुगेको छ।