उपत्यकाका घर–घरमा संक्रमण भएको विज्ञहरूको दावी

वेलकम खबर
अशोज २३, २०७७

काठमाडौँ। नेपालमा कोरोना सङ्क्रमणको पछिल्लो तथ्यांक हेर्दा २४ घण्टामा सय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी संक्रमण दर हो।

बिहीबार १८ हजार ४ सय ७३ जनाको पीसीआर गरिएको थियो। जसको २३.६२ प्रतिशत अर्थात् ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ। कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५८.२० प्रतिशत अर्थात् २ हजार ५ सय ४० जना छन्।

पछिल्लो समयमा महिला संक्रमित हुने क्रम व्यापक बढेको छ। बिहीबार पुष्टि भएका कुल संक्रमितमध्ये ३५.७६ प्रतिशत महिला छन्। हालसम्म संक्रमण पुष्टि भएकामध्ये २९ प्रतिशत महिला छन्। पछिल्लो समय काठमाडौं उपत्यकामा पीसीआर परीक्षण बढाइएपछि संक्रमित धेरै फेला परेका हुन्।

‘काठमाडौंमा परीक्षण बढेको छ। बाहिर त्यति परीक्षण भएको छैन। उपत्यका बाहिर कोभिड परीक्षण कम भएर संक्रमण बढी नदेखिएको हुन सक्छ तर बाहिर मृत्युदर बढी देखिएको छैन।’ स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने।

हाल काठमाडौंमा ज्वरो नदेखिएको सदस्य भएको परिवार धेरै कम रहेको डा. पाण्डेले बताए। ‘काठमाडौंमा कोभिड घर–घर गइसक्यो।’ उनले भने । हाल देशभरिमा २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित रहेकामा ५८.३९ प्रतिशत अर्थात् १५ हजार ५ सय ८३ जना राजधानीमा छन्। काठमाडौं जिल्लामा ४६.६२ प्रतिशत अर्थात् १२ हजार ४ सय ४१ जना सक्रिय संक्रमित छन्।

कोभिडका कारण हालसम्म मृत्यु भएका ५ सय ९० जनामा १ सय ८३ जना अर्थात् ३१.१ प्रतिशत उपत्यकाका छन्। काठमाडौं जिल्लामा मात्र २१.०१ प्रतिशत अर्थात् १ सय २४ जनाको मृत्यु भएको छ।

राजधानीमा व्यापक रूपमा संक्रमण विस्तार भएकाले दसैँतिहारमा जो जहाँ छन्, त्यहीँ बस्नुपर्ने अवस्था देखिएको विज्ञहरूले बताएका छन्। नभए सङ्क्रमणको विस्तार देशभर हुने खतरा रहेको उनीहरूको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*