डा. केसी र सरकार पक्षबीच आज दिउँसो वार्ता हुने

वेलकम खबर
अशोज २२, २०७७

काठमाडौं। सत्याग्रही डा. गोविन्द केसी र सरकार पक्षबीच आज दिउँसो वार्ता हुने भएको छ। केसी अनशन बसको २४ औँ दिनसम्म पनि वास्ता नगरेको सरकारले बुधबार वार्ता टोली गठन गरेपछि केसीको तर्फबाट पनि चार सदस्यीय वार्ता टोली बनेको हो।

दुवै पक्षका वार्ता टोलीले आज दिउँसो वार्ता गर्ने भएका हुन्। वार्ताको मुडमा नदेखिएको सरकारले  प्रमुख प्रतिपक्षी दल, चिकित्सक संघ, राष्ट्रिय मानव अधिकार आयोग, समाजका अन्य अंग र सत्तारुढ दलकै नेताहरूको दबाबपछि बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो।

सरकारको समिति बनेको केही घन्टापछि  डा केसीको तर्फबाट पनि चार सदस्यीय वार्ता टोली बन्यो। केसीका तर्फबाट  डा जीवन क्षेत्रीको नेतृत्वमा बनेको वार्ता टोलीमा नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, पूर्वअध्यक्ष डा अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन्।

वार्ता टोली नै नबनाउने सरकारी मनसाय र आजदेखि आन्दोलन सुरु गर्ने केसी पक्षबीच वार्ता टोली बनेपछि आजबाट वार्ता हुने भएको छ। सरकार र  सत्याग्रही डा केसीको वार्ता टोलीबीच आज  (बिहीबार) दिउँसो  ४ बजे वार्ता गर्ने तय भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*