सङ्क्रमित बढ्यो, उपत्यकामा धान्न मुस्किल हुन सक्छ : स्वास्थ्य मन्त्रालय
काठमाडौं। सरकारले कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेसँगै शय्या (बेड) अभाव हुन थालेको बताएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिले सङ्क्रमितहरूको पायक पर्ने अस्पतालमा शय्या पाउन छाडेको र काठमाडौं उपत्यकाको भार अत्यधिक भएको बताएका छन्।
केही दिन यही दरमा सङ्क्रमित बढेमा उपत्यकाको भार थाम्न नसकिने भन्दै उनले स्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई आग्रह गरेका छन्। कोरोना जनस्वास्थ्यको ठूलो समस्या रहेको भन्दै उनले सबैको पहलबाट मात्र यो सङ्कट टार्न सकिने बताए।
अहिले किनमेल गर्नेको भिड हेर्दा मानिसले कोरोना बिर्सिएको जस्तो लागेको भन्दै प्रवक्ता डा। गौतमले चाडपर्व खल्लो नबनाउन आफू पनि सङ्क्रमण हुनबाट बच्न र परिवारलाई पनि बचाउन सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताए।
यस्तै मन्त्रालयले सामान्य ज्वरो तथा रुघाखोकी आउँदा अस्पताल नजान भनेको छ। अस्पतालमा उपचार गर्ने ठाउँ तथा जनशक्तिको अभाव तथा अस्पताल जाँदा भिडभाड भएर त्यहाँबाट कोरोना सर्न सक्ने भन्दै मन्त्रालयले श्वास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा बेहोस हुने सङ्केत देखिएमा र पिसाब नआएमा मात्र अस्पताल जान आग्रह गरेको छ।
सरकारले यसअघि २५ हजार सक्रिय सङ्क्रमित भएमा सरकारले धान्न नसक्ने भन्दै लकडाउन गर्नुपर्ने बताएको थियो। बुधबार सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको छ।